बागलुङकाे गलकोटमा भलिबल प्रशिक्षण केन्द्र सञ्चालन
बागलुङ। व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका-६ मा भलिबल प्रशिक्षण सञ्चालनमा ल्याइएको छ। शुक्रबारदेखि प्रशिक्षण शुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिए।
प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन्। बिहान र बेलुका गरी दैनिक दुई चरणमा प्रशिक्षण चलाइने अध्यक्ष श्रीसको भनाइ छ। “शुरुमा भर्नासहित दुई हजार रुपैयाँ शुल्क तोकेको छौँ, त्यसपछि मासिक १५ सय रुपैयाँ तिरे पुग्छ,” उनले भने।
भलिबलका ‘लेभल’ एक प्रशिक्षक उदय बम मल्लले प्रशिक्षण दिने छ। ‘स्वच्छ खेल, समृद्ध भलिबल हाम्रो नारा, स्वच्छ नगर निर्माणमा हाम्रो अभिभारा’ भन्ने आदर्श वाक्यसहित प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रीसले बताए।
मासिक पाँच हजार रुपैयाँ भाडामा जग्गा लिई प्रशिक्षणका लागि मैदानलगायतका संरचना तयार गरिएको छ। खेलकूद सामग्री खरिदका लागि गलकोट नगरपालिकाले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। “गलकोटमा भलिबलको आफ्नै विरासत छ, त्यसलाई जोगाउँदै नयाँ पुस्ताका खेलाडी जन्माउनु छ,” अध्यक्ष श्रीसले भने।