प्रिमियर लिग : लिभरपुलको ६० वर्षयता कै ठूलो हार


एजेन्सी । इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राती एस्टन भिल्लासँग भएको खेलमा लिभरपुल ७–२ गोल अन्तरले पराजित भएको हो ।

एस्टन भिल्लाको घरेलु मैदानमा भएको खेलमा भिल्लाले लिभरपुलमाथि अन्तिम समयसम्म दबाब कायम राख्न सफल भयो । लिभरपुल खेलको चाैथो मिनेटमा नै खेलमा पछि परेको थियो । भिल्लाका लागि वली वाट्किन्सले गोल गर्दै सुरूवाति अग्रता दिलाएका थिए ।

खेलको २२ औँ मिनेटमा वाट्किन्सले नै दोश्रो गोल गर्दा लिभरपुल थप दबावमा परेको थियो । ३३ औँ मिनेटमा लिभरपुलका मोहमेद सलहले गोल गर्दै खेलमा फर्किने प्रयास गरेका थिए । तर, ३५ औँ मिनेटमा जोन म्याक्किन तथा ३९ औँ मिनेटमा वाट्किन्सले गोल गर्दा लिभरपुल निरीह बन्दै गयो ।

पहिलो हाफमै ४ गोल सामना गरेको लिभरपुलले दोश्रो हाफमा पनि ३ गोलको सामना गर्यो । दोश्रो हाफमा एस्टन भिल्लाका रोज बार्कलेले एक तथा ज्याक ग्रियालिसले २ गोल गर्दा लिभरपुलका सलहले एक गोल फर्काए ।

लिभरपुलले जारी प्रिमियर लिगमा भोगेको यो पहिलो पराजय हो । लिभरपुलसँगको उत्कृष्ट जीतमा भिल्लाका वाट्किन्सले ह्याट्रिक गरे ।

लिभरपुलले ५४ वर्षपछि एउटै खेलमा ७ गोलको सामना गरेको यो पहिलो पटक हो । त्यस्तै हिजो राती नै भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि टोटनह्याम हट्सपर्ससँग ६–१ गोलको विशाल हारको सामना गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?