नेका संसदीय दल बैठक: तोडफोड गैरसंसदीय घटना भएको ठहर, वार्ताको ढोका खुल्लै
नेपाली काँग्रेसले संविधानसभाको बैठकमा गएराति भएको घटनालाई ‘गैरराजनीतिक र गैरसंसदीय घटना’को सङ्ज्ञा दिएको छ । सो पार्टीकोे संविधानसभा भवनमा बसेको संसदीय दलको बैठकले यस्तो घटनाबाट विचलित नभई संविधान निर्माण गर्न पार्टी निरन्तर लागिरहने पनि स्पष्ट गरेको छ । पार्टीले घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग समेत गरेको छ । बैठकपछि काँग्रेसका सभासद् गगनकुमार थापाले पत्रकारलाई दिनुभएको जानकारीअनुसार बैठकले सभाध्यक्ष सुवास नेम्वाङलाई सभाका बैठक निरन्तर सञ्चालन गर्न पनि आग्रह गरेको छ । बैठकले राजनीतिक समस्याको समाधान संवाद र सहमतिमार्फत खोज्न आग्रह गर्दै यसका लागि पार्टीे खुल्ला रहेको जनाएको छ । बैठकपछि सभासद् अर्जुनप्रसाद जोशीले संविधानका अन्तरवस्तुमा सहमतिका लागि ढोका बन्द नभएको र संविधानसभालाई कहीँकतैबाट बन्धक बनाउन नहुने निर्णय भएको बताउनुभयो । सहमति नभए प्रक्रियाका माध्यमबाट जान पनि बैठकले जोड दिएको छ । बैठकको सुरुमा प्रधानमन्त्री तथा पार्टीका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे अवगत गराउनुभएको थियो ।