सभासद्हरूको शरीर जाँच, संविधानसभामा सुरक्षा व्यवस्था कडा
संविधानसभाको आजको बैठकमा भाग लिन आउनुभएका सभासद्को शरीर जाँच गरेरमात्र उहाँहरूलाई प्रवेश दिइएको छ । संविधानसभा भवनको मूलद्वारबाटै सभासद्, सञ्चारकर्मी तथा भवनमा प्रवेश गर्ने जो कोहीको शरीर, झोला, चस्मा, पर्सलगायतको सूक्ष्म परीक्षण गरेर मात्र प्रवेश दिने गरिएको छ । मोटर र मोटरसाइकल चढेर आएका सबैलाई कडा जाँचपछि मात्र संविधानसभा भवन परिसरमा प्रवेश दिइएको छ भने विगतमा दक्षिण द्वारबाट सभासद्हरूलाई सभामा दिइएको प्रवेशद्वार बन्द गरेर मूलढोकाबाट मात्र प्रवेश दिइएको छ । सभामा प्रवेश गर्ने सभासद्लाई झोलालगायत सामग्री सभामा लैजान दिइएको छैन । सभास्थल प्रवेशमा मन्त्रिपरिषद्का सदस्यलाई पनि जाँच गरेरमात्र भित्र जान दिइएको छ । संविधानसभाभित्र र बाहिर नेपाल प्रहरीको बाक्लो उपस्थिति छ । सभाभवनभित्रको सुरक्षा नेतृत्व प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्मा नेतृत्वको उच्च टोलीले गरेको छ । बिहान ११ बजेका लागि निर्धारण गरिएको संविधानसभाको बैठक अहिलेसम्म प्रारम्भ भएको छैन । आजको बैठकमा प्रश्नावली निर्माण समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानका अन्तर्वस्तुमा सहमति जुटाउन नसकेको र विवादका विषयमा प्रश्नावली पनि तयार गर्न नसकेपछि प्रक्रियामा गएर संविधान जारी गर्ने प्रयोजनका लागि सभामा प्रश्नावली निर्माण समिति गठनको प्रस्ताव प्रस्तुत हुन लागेको हो । गत मङ्गलबार बिहान संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले समितिको प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि प्रश्नावली निर्माण समिति गठनका निम्ति प्रस्ताव पेस गर्न सभाध्यक्ष सुवास नेम्वाङले नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई समय दिएपछि सभामा एनेकपा (माओवादी) र मधेसवादी दलका सभासद्बाट तोडफोड र नाराबाजी भएको थियो । मङ्गलबारदेखि सोही विषयलाई लिएर अवरुद्ध सभाको आजको कार्यसूची पनि सोही रहेको छ । सभासद् श्रेष्ठले संविधानसभा नियमावली, २०७० को नियम ९१ बमोजिम प्रस्तुत गर्ने उक्त प्रस्तावको नेकपा (एमाले) का सभासद् अग्निप्रसाद खरेलले समर्थन गर्नुहुनेछ । यसैबीच, कुनै पनि सभासद्ले असुरक्षित महसुस गर्न नपर्ने गरी सभाभवन परिसरमा प्रवन्ध मिलाइएको सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताउनुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले विगतको घटनालाई ध्यानमा राखी सुरक्षा व्यवस्था चुस्त पारिएको जनाउनुभएको छ ।
कसले ल्यायो खुर्सानीको धुलो ?
बिहान ११ बजेका लागि तोकिएको संविधानसभाको बैठक हुनुपूर्व सुरक्षाकर्मीको नियमित जाँचका क्रममा संविधानसभाभित्र १० स्थानमा खुर्सानीको धुलोका पोका भेटिएका छन् । व्यवस्थापिका संसद्का प्रवक्ता मुकुन्द शर्माले सो खुर्सानीको धुलो कसरी र कहाँबाट आयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको र सभाभित्र यस्तो स्थिति देखिनु दुर्भाग्यपूर्ण भएको पत्रकारहरूलाई बताउनुभयो । यो घटनापछि अहिले संविधानसभा परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । संविधानसभाको मूलढोकादेखि नै आज सभासद् र अन्य प्रवेशकर्तालाई कडाइका साथ जाँच गरिएको छ । महिला सभासद्लाई झोला पनि लान दिइएको छैन ।
सुरक्षा जाँच अमान्य
प्रमुख प्रतिपक्ष दल एकीकृत (नेकपा) माओवादी र मधेसी मोर्चाले संविधानसभा भवन प्रवेशका लागि आफ्ना सभासद्हरूमाथि गरिएको कडा सुरक्षा जाँचप्रति सभाध्यक्ष सुवास नेम्वाङलाई ध्यानाकर्षण गराएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायतका नेताले आज अध्यक्ष नेम्वाङलाई संविधानसभा भवन नयाँ बानेश्वरमा भेटी संविधानसभालाई जेलजस्तो बनाइएको आरोप लगाउनुभयो । भेटपछि एमाओवादी नेता अग्निप्रसाद सापकोटाले सञ्चारकर्मीलाई जानकारी दिँदै नियोजित रुपमा प्रतिपक्ष दलका सभासद्को अपमान गर्न खोजिएको आरोप लगाउनुभएको हो । उहाँले गत सोमबार बिग्रेको माइकमध्ये प्रतिपक्षतर्फको मर्मत नगरिएको प्रति आपत्तिसमेत जनाउनुभयो । गत सोमबार राति सभासद्हरूले मदिरा सेवन गरेर आएको भन्ने आरोपको खण्डन गर्दै उहाँले कुनै पनि सभासद्ले त्यसो नगरेको स्पष्ट पार्नुभयो ।
संविधान जारी गर्न माग गर्दै विभिन्न समूहको धर्ना र विरोध
संविधान जारी गर्न माग गर्दै विभिन्न राजनीतिक दलका भ्रातृ सङ्गठन तथा जनजाति सङ्गठन, महिला समूहलगायतले अहिले धर्ना तथा विरोधका कार्यक्रम गरिरहेका छन् । संविधानसभा नजिक, नयाँ बानेश्वर चोकदेखि बिजुलीबजारसम्म विभिन्न समूहको विरोधका कार्यक्रमले सडक ठप्प भएको छ, सवारी साधन चल्न नसक्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् । प्रदर्शनलाई ध्यानमा राखी संविधानसभा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ सो क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा दुवै पक्षबीच घम्साघम्सी भएर अवस्था तनावग्रस्त बनेको छ ।