शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधिबाट चाँडै संविधान जारी गर्ने प्रमको प्रतिबद्धता सत्ता मेरा लागि गौण हो, संविधान निर्माण पूरा गराउने अभियानमा प्रतिबद्ध छु :प्रम
प्रधानमन्त्री सुशील कोइरालाले शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधिबाट चाँडै लोकतान्त्रिक संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रका नाममासम्बोधन गर्ने क्रममा नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्रीले सत्ता आफ्ना लागि गौण र संविधान महत्वपूर्ण भएको बताउँदै संविधान निर्माणको अभियानमा आफ्नो दृढता व्यक्त गर्नुभयो । संविधान निर्माणप्रतिको पार्टीको पुरानो प्रतिबद्धता दोहो¥याउँदै त्यसका लागि निरन्तर प्रयत्न गरिरहेको उहाँले स्पष्ट गर्नुभयो । उहाँले संवेदनशील मोडमा पुगेको मुलुकको वर्तमान राजनीतिक अवस्थालाई शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधिबाट संविधान जारी गरेरै छाड्ने बताउनुभयो । नेपाली जनताको शान्त र विशाल जनमत लोकतान्त्रिक संविधान प्राप्त गर्दै सुदृढ राष्ट्रिय एकतासहित शान्त र समृद्ध नेपाल निर्माणको बहुसङ्ख्यक नेपाली जनताको चाहनालाई उग्र, अराजक र अलोकतान्त्रिक व्यवहारको निशाना बन्न नदिने दृढता प्रधानमन्त्री कोइरालाले व्यक्त गर्नुभयो । लोकतान्त्रिक संविधान निर्माणमा देशवासी र प्रवासी नेपालीको व्यापक सहयोग र समर्थनको अपेक्षा आफूले गरेको बताउँदै उहाँले मुलुकलाई शान्ति, स्थिरता र दिगो विकास पथमा अग्रसर गराउनु आफ्नो एक मात्र लक्ष्य रहेको प्रस्ट पार्नुभयो । राष्ट्रिय एकता र मेलमिलापको उदात्त भावनाले लोकतान्त्रिक सङ्घीय गणतन्त्रात्मक संविधान निर्माणमा सघाउन सबै राजनीतिक दलसँग अनुरोध गर्दै प्रधानमन्त्रीले भन्नुभयो–“सुन्दर शान्त नेपालमा द्रुत विकासको थालनी गरौँ, जनता राष्ट्र निर्माण र विकास अभियानका महत्वपूर्ण ऊर्जा हुन्, अवसरका कमीले रोजगारीको खोजीमा बिदेसिन बाध्य भएका हाम्रा गतिशील र क्षमतावान् लाखौँ युवाको अवस्थालाई समेत ध्यानमा राखी जनताको जीवनस्तर उठाउने आमूल परिवर्तनको महाभियानको संवाहक बनौँ ।” आपसी मनमुटाव बढाएर जनता र देशको हित नहुने र त्यसले केवल विभाजन र विद्वेष पैदा गराउने वास्तविकता स्मरण गराउँदै उहाँले संविधान लेखनका निम्ति जनादेश प्राप्त गरेका राजनीतिक दल तथा तिनका नेतालाई जनता निरास हुने स्थिति आउन दिन नहुनेमा जोड दिनुभयो । जनता हतोत्साहित भए राष्ट्र र राष्ट्रियता कमजोर हुने भन्दै उहाँले मुलुकमा शान्ति, सुव्यवस्था, सुशासन, पारदर्शिता, भ्रष्ट्राचार नियन्त्रण र उन्नतिका लागि योगदान गरिरहनु समस्त नेपालीको दायित्व भएको बताउनुभयो । नेपालले सबैसँग मित्रता र सद्भाव राख्दै आएका छिमेकी एवम् सबै मित्रराष्ट्रले नेपाल र नेपाली जनताको लोकतान्त्रिक प्रतिबद्धताप्रति देखाएको सद्भाव र समर्थनको सराहना गर्नाका साथै सबैसँग समानताका आधारमा सहयोगात्मक सुसम्बन्ध कायम गरी लोकतान्त्रिक जगमा सामाजिक–आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउने वर्तमान सरकारको अभियानमा निरन्तर सद्भाव र समर्थनको अपेक्षा प्रधानमन्त्रीले सम्बोधनमार्फत व्यक्त गर्नुभयो । नेपालमा कायम हुने एकता, शान्ति, स्थिरता, लोकतन्त्र र विकासले हाम्रा छिमेकी र विश्व समुदायलाई पनि शान्ति र समृद्धिमा सकारात्मक योगदान पुग्ने यथार्थतर्फ उहाँले मित्रराष्ट्रको ध्यानाकर्षण गराउँदै नेपालको राष्ट्रिय एकता, दिगो शान्ति र सहमतिको राजनीति आफ्नो लोकतान्त्रिक अनुभव, अभ्यास र प्राथमिकतामा अघि बढ्दै सुदृढ हुने यथार्थ बुझिदिनुहुन अनुरोध गर्नुभयो ।
चिट्ठा परेर विकास नहुने
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान बन्दैछ र राजनीतिक स्थिरता सुदृढ हुँदैछ भन्ने विश्वासमा देशभित्र र देशबाहिरका लगानीकर्ताहरुबाट ऊर्जा, पर्यटन, कृषि, उद्योगधन्दा, कलकारखाना र अन्य पूर्वाधार एवम् उत्पादनका क्षेत्रमा व्यापक लगानी सुरु भइसकेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो–“चाँडै ऊर्जा क्षेत्रको सङ्कट समाधान हुने सम्भावनाका बीच आर्थिक विकासका गतिविधि तीव्र हुँदै गएका छन्, पूर्वाधारका क्षेत्रमा सरकारको लगानीसमेत परिणाममुखी बन्दैछ, विकास चिट्ठा परेर हुने होइन, वर्षांैको निरन्तर लगानी र उत्पादनले मात्र आर्थिक समुन्नतिको खुट्किलो चढ्न सकिन्छ, अनुकूल परिस्थिति बन्दै गएको बेला समाजमा द्वन्द्व र जनतामा निराशा आउने अवस्था कुनै पनि हालतमा बन्न दिनुहुँदैन ।”
प्रधानमन्त्रीले दिनुभएको सम्बोधनको पूर्णपाठ ः
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
१) वर्तमान संविधानसभाको निर्वाचनका समयमा र निर्वाचनपछि सबै राजनीतिक दलले एक वर्षभित्र नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान ल्याउने प्रतिबद्धता व्यक्त गरेका थियौँ । संविधानसभाले पनि दलहरुको भावनालाई आत्मसात् गर्दै ‘साझा सङ्कल्प’का रुपमा २०७१ माघ ८ भित्रै संविधान निर्माणको कार्यतालिका पारित गरेको स्मरण गराउन चाहन्छु । यो प्रतिबद्धताअनुरुप हिजो माघ ८ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भइसक्नुपर्ने थियो ।
२) संविधान निर्माणको कार्य नेपाल राष्ट्र, संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् र राजनीतिक दलहरुको जिम्मेवारीसँग प्रत्यक्ष सम्बन्ध रहेको विषय हो । तर पनि संविधान निर्माणजस्तो देश र जनताको भविष्यसँग गाँसिएको विषयलाई भरसक सहमतिमै सम्पन्न गर्नका लागि प्रधानमन्त्रीका रुपमा सबै दललाई नम्रतापूर्वक अनुरोध गर्दै आएको थिएँ । तर दुःखका साथ मैले भन्नुपर्दछ कि सबै राजनीतिक दलले माघ ८ गतेभित्र संविधान जारी गर्न लिएको ‘साझा सङ्कल्प’ केही राजनीतिक दलका अस्वाभाविक अडान र लोकतान्त्रिक विधिको बेवास्ता गर्ने प्रवृत्तिका कारण सङ्कटमा पर्न गएको छ ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
३) हामी सबैले लक्ष्य बनाएको माघ ८ गतेको दिनसम्म आइपुग्दा हाम्रो संविधानसभा शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधि र व्यवहारका अभ्यास गर्ने ठाउँ बन्न पाएन । दुर्भाग्यवश माघ ५ गतेको मध्यरात्रिदेखि संविधानसभा उत्तेजनात्मक गतिविधि, तोडफोड र अराजक व्यवहारको प्रदर्शनी बन्न पुग्यो । संविधानसभाभित्रकै केही राजनीतिक दल मतभेदका विषयमा अनेकन वैकल्पिक प्रस्तावउपर छलफलमा केन्द्रित हुनाको साटो संविधानसभाबाट संविधान बन्न सक्दैन भन्ने राजनीतिक निष्कर्ष र मोर्चामा आबद्ध दलहरुसँग मिसिएर बन्द र हडतालको विकल्पतर्फ जाँदा संविधान निर्माणका प्रयासमा गम्भीर धक्का लाग्न पुग्यो । जनताका आशा र विश्वासमाथि लागेको यो चोटले मलाई मर्माहत तुल्याएको छ ।
४) हामीले आपसी सहकार्य, समझदारी, एकता र मेलमिलापका आधारमा हुने सहमतिको प्रयासलाई अझै छाडेका छैनौँ । संविधान निर्माणको विभिन्न चरणमा शान्तिपूर्ण जनआन्दोलनका सहयात्रीबीचको सहकार्यको भावना नटुटोस् भन्ने हाम्रो सदाशयता र प्रयत्न रहिआएको छ । “मिलेर हासिल गरेका उपलब्धिलाई मिलेर नै संस्थागत गरौँ” भन्ने हाम्रो भावनालाई कतिपय सहयात्री दलका नेताले कमजोरीका रुपमा उपयोग गर्न खोज्नुभएको छ, जसका कारण संविधान निर्माणको कार्य अनिर्णय र अन्योलको बन्दी हुन पुगेको छ । अब यस परिस्थितिको अन्त्य हुनुपर्दछ ।
५) मलाई विश्वास छ, जनताको मौलिक अधिकार, न्याय र स्वतन्त्रताको जग बलियो हुँदा मात्रै मुलुकको दिगो शान्ति र स्थिरता कायम हुन सक्दछ । नेपाल सदा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । यसको सामाजिक सद्भावमाथि कसैले पनि खेलबाड गर्नु हुँदैन । आपसी सद्भाव, बन्धुत्वको भावना, सहिष्णुता र मेलमिलाप र सामञ्जस्यता कायम गरी राष्ट्र निर्माणमा समावेश हुनुपर्ने आजको आवश्यकता हो । त्यसैले मुलुकले आर्थिक रुपमा धान्न सक्ने, राष्ट्रिय एकतालाई मजबुत बनाउने, सामाजिक सद्भाव र सहिष्णुता कायम हुने लोकतान्त्रिक संविधान र सङ्घीय प्रदेशहरुको निर्माण गर्नुपर्दछ भन्ने हाम्रो दृढ अडान पुनः दोहो¥याउन चाहन्छु ।
६) आउने संविधानमा समस्त महिला, दलित, आदिवासी, जनजाति, थारू, मुस्लिम, अन्य अल्पसङ्ख्यक, सीमान्तकृत र पिछडिएको वर्गसहित सबै नेपालीलार्ई आफ्नो पहिचान, धर्म, संस्कृति, वेशभूषा, भाषा, परम्पराको संरक्षण र संवद्र्धन गर्ने स्वतन्त्रताको प्रत्याभूति हुनेछ । नयाँ संविधानको निर्माणमा आमजनताको सहभागिता सुनिश्चित गरिएको छ ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
७) लोकतान्त्रिक आधारशिलामा मात्र देशको राष्ट्रियता र राष्ट्रिय एकता संवद्र्धन गर्न सकिन्छ । लोकतान्त्रिक संस्थाहरुलाई सशक्त र मजबुत पार्दै सांस्कृतिक जगलाई सुदृढ बनाएर देशको प्राकृतिक र मानव संसाधनको अधिकतम उपयोग गरी मुलुकको चौतर्फी विकास गर्नुपर्ने बेलामा द्वेष, हिंसा र उत्तेजनालाई बढावा दिन उत्प्रेरित गर्ने कार्य हुनुलाई मैले दुर्भाग्यका रुपमा लिएको छु ।
८) नेपाली जनताले प्रजातन्त्रका लागि लामो सङ्घर्ष गरिसकेका छन् । ६२÷६३ को शान्तिपूर्ण जनआन्दोलनलाई हामीले राजनीतिक परिवर्तनका लागि अन्तिम आन्दोलन भनेका थियाँै । राजनीतिक परिवर्तनपश्चात् मुलुकमा स्थायित्व र विकास होला, सुख र शान्ति पाइएला भन्ने जनताको आशालाई यथार्थमा रुपान्तरण गर्न हामीले लोकतान्त्रिक संविधान निर्माण गर्नैपर्ने अवस्था छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान बन्दैछ र राजनीतिक स्थिरता सुदृढ हुँदैछ भन्ने विश्वासमा देशभित्र र देशबाहिरका लगानीकर्ताबाट ऊर्जा, पर्यटन, कृषि, उद्योगधन्दा, कलकारखाना र अन्य पूर्वाधार एवम् उत्पादनका क्षेत्रमा व्यापक लगानी सुरु भइसकेको छ । चाँडै ऊर्जा क्षेत्रको सङ्कट समाधान हुने सम्भावनाका बीच आर्थिक विकासका गतिविधि तीव्र हुँदै गएका छन् । पूर्वाधारका क्षेत्रमा सरकारको लगानीसमेत परिणाममुखी बन्दैछ । विकास चिट्ठा परेर हुने होइन, वर्षांैको निरन्तर लगानी र उत्पादनले मात्र आर्थिक समुन्नतिको खुट्किलो चढ्न सकिन्छ । अनुकूल परिस्थिति बन्दै गएको बेला समाजमा द्वन्द्व र जनतामा निराशा आउने अवस्था कुनै पनि हालतमा बन्न दिनु हुँदैन ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु
९) आपसी मनमुटाव बढाएर जनता र देशको हित हँुदैन । यसले केवल विभाजन र विद्वेष पैदा गराउँछ । जनता निरास हुने स्थिति आउन दिनु हुँदैन । जनता हतोत्साहित भए राष्ट्र र राष्ट्रियता कमजोर हुन्छ । यस कुरालाई ध्यानमा राख्दै मुलुकमा शान्ति, सुव्यवस्था, सुशासन, पारदर्शिता, भ्रष्ट्राचार नियन्त्रण र उन्नतिका लागि योगदान गरिरहने सबैलाई म धन्यवाद दिन चाहन्छु ।
१०) तसर्थ मेरो सबै राजनीतिक दलसँग विनम्र अनुरोध छ, राष्ट्रिय एकता र मेलमिलापको उदात्त भावनाले लोकतान्त्रिक सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण गरौँ । सुन्दर शान्त नेपालमा द्रुत विकासको थालनी गरौँ । जनता राष्ट्र निर्माण र विकास अभियानका महत्वपूर्ण ऊर्जा हुन् । अवसरका कमीले रोजगारीको खोजीमा बिदेसिन बाध्य भएका हाम्रा गतिशील र क्षमतावान् लाखाँै युवाको अवस्थालाई समेत ध्यानमा राखी जनताको जीवनस्तर माथि उठाउने आमूल परिवर्तनको महाभियानको संवाहक बनौँ ।
११) नेपाल सबैसँग मित्रता र सद्भाव राख्दछ । हाम्रा छिमेकी एवम् सबै मित्रराष्ट्रले नेपाल र नेपाली जनताको लोकतान्त्रिक प्रतिबद्धताप्रति देखाएको सद्भाव र समर्थनको सराहना गर्दछौँ । सबै मित्रराष्ट्रसँग समानताका आधारमा सहयोगात्मक सुसम्बन्ध कायम गरी लोकतान्त्रिक जगमा सामाजिक–आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउने हाम्रो अभियानमा निरन्तर सद्भाव र समर्थनको अपेक्षा गरेका छौँ । नेपालको राष्ट्रिय एकता, दिगो शान्ति र सहमतिको राजनीति हाम्रो आफ्नो लोकतान्त्रिक अनुभव, अभ्यास र प्राथमिकतमा अघि बढ्छ र सुदृढ हुँदै जान्छ । यस यथार्थलाई बुझिदिनुहुन हाम्रा मित्रहरुमा विनम्र अनुरोध गर्दछु । नेपालमा कायम हुने एकता, शान्ति, स्थिरता, लोकतन्त्र र विकासले हाम्रा छिमेकी र विश्व समुदायलाई पनि शान्ति र समृद्धिमा सकारात्मक योगदान पुग्नेछ भन्ने यथार्थतर्फ म हाम्रा मित्रराष्ट्रहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
१२) मुुलुकको भविष्य हाम्रो उद्देश्यको एकतामा निर्भर रहन्छ । संविधान एक राजनीतिक दस्तावेज पनि हो । यसमा तोकिएको संशोधनको प्रक्रियाबाट समयसापेक्ष जनआकाङ्क्षा प्रतिविम्बित हुन्छ । त्यसकारण लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान बनाई मुलुकलाई लामो सङक्रमणकालबाट जति सक्दो चाँडो निकास दिनु अनिवार्य ठानेको छु ।
१३) मेरो लक्ष्य लोकतान्त्रिक संविधान निर्माण गरेर मुलुकलाई शान्ति, स्थिरता र दिगो विकास पथमा अग्रसर गराउनु हो । सत्ता मेरा लागि गौण विषय हो । म संविधान निर्माण पूरा गराउने अभियानमा प्रतिबद्ध छु ।
१४) संविधान निर्माण गर्ने प्रयत्नमा हामी आज एउटा संवेदनशील मोडमा उभिएका छौँ । म दृढतापूर्वक देश र जनतालाई आश्वस्त गराउन चाहन्छु, शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधिको अबलम्बन गर्दै हामी देशमा चाँडै संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नेछौँ । नेपाली जनताको शान्त र विशाल जनमत लोकतान्त्रिक संविधान प्राप्त गर्दै सुदृढ राष्ट्रिय एकतासहित शान्त र समृद्ध नेपाल निर्माण गर्न चाहन्छौँ । बहुसङ्ख्यक नेपाली जनताको यो चाहनालाई हामी उग्र, अराजक र अलोकतान्त्रिक व्यवहारको निशाना बन्न दिने छैनौँ भन्ने दृढता व्यक्त गर्न चाहन्छु । हाम्रो यस कार्यमा समस्त देशवासी र प्रवासी नेपालीको व्यापक सहयोग र समर्थन रहनेमा म विश्वस्त छु ।
जय नेपाल