एक पत्र
प्रिय चिरञ्जीवी,
आज मलाई एउटा रटना उपर अलिकता रोचक, अलिकता घोचक, अलिकता मनोरञ्जक टिप्पणी गर्न मन लाग्यो । यो टिप्पणी गर्न मलाई कुतकुत्याएको तपाईँको यही माई नेपाल टीभी, अष्ट्रेलिया नामक अनलाइन प्रकाशनले हो । मेरो लेख ‘कम्निस्ट हुनुको दुःख’को पुछारमा सानो प्रकाशकीय सूचना पढेँ । सूचनामा एक फाँको निषेधकारी संहिता र एक फाँको ध्वाँस छ । सूचना भन्छ— ‘यो सामग्री लिखित अनुमति नलिई अन्य कुनै अनलाइन वा पत्रपत्रिकामा प्रकाशित/प्रसारित गर्न पाइने छैन । यसो गरेको पाइएमा कानुनबमोजिम कारवाही अघि बढाइने छ ।’ जब यो दामी सूचना मेरा आँखामा प-यो, म कानसम्म मुख च्यातेर मनमनै हाँसे । कोरोना महामारीको अत्यासले हास्य–चेत नै शुष्क भएको बखतमा मलाई यसरी हाँस्न पाउने विरल सुयोग जु-यो । दुर्लभ हाँसोको यो अमूल्य उपहार प्रदान गरेबापत यो प्रकाशकीय सूचनालाई मेरो मुरीमुरी धन्यवाद !
यो प्रकाशकीय सूचना मेरालागि नयाँ होइन । कति–कतिअघिदेखि कति–कति पटक मेरा आँखामा परेको बासी एवं निष्प्रभावी सूचना हो यो । पुस्तक वा पत्रिकामा यस्तो सूचना पढेर मैले पटकैपिच्छे यो निरस जीवनमा एक राउन्ड निःशुल्क मनोरञ्जन प्राप्त गरेको छु । यस्तो सूचनामा अन्यत्र ‘पुस्तक वा लेखको अंश वा पूर्ण पाठ प्रकाशित/प्रसारित गरेमा’ भनी ध्वाँस दिइएको हुन्छ । उसो वा यसो जे भने पनि कुरो उही हो— होसियार ! मैले भनेको नमाने तँ मेरो कानुनी लात खालास् !
यो सूचनाले मलाई श्राद्धमा बिरालो बाँध्ने रुढिगत संस्कारको याद दिलाउँछ । वर्सेनी श्राद्ध आउँछ, सडित रुढिका अन्ध–अनुयायीहरु किलामा बिरालो बाँध्छन् । बिरालो बाँधिएको किन हो बाँध्ने मनुवा स्वयंलाई थाहापत्तो हुँदैन । र, यसबारे थाहापत्तो नभएको पनि उसलाई कत्ति थाहापत्तो हुँदैन । श्राद्ध आइरहन्छ, बिरालो बाँधिरहिन्छ । किन ? ‘किन’को कनिकुथी बासी जबाफ भन्छ— श्राद्धको हाम्रो संस्कारमा पितापुर्खादेखि चलिआएको चलन यस्तै छ त ! यो सस्कारको तर्कसङ्गत अर्थ केही छ कि ? लरिल्वाँठ उत्तर आउँछ— यस्तो अर्थ कहिल्यै कसैले खोजेनन् त म बाठो भएर बित्थामा लेठो किन गरुँ ? बस्, जसोजसो बाहुन बाजे उसैउसै स्वाहा !
लेख वा पुस्तकमा लेखकको जीवन–जगत्सम्बन्धी दृष्टिकोण, धारणा, मत वा मान्यता अभिव्यक्त हुन्छ । शब्द सीमित होऊन् वा व्यापक, विषय विराट् होस् वा सूक्ष्म, स्पष्ट रुपमा वा सङ्केतमा, मुखर वा मौन रुपमा व्यक्त हुने कुरा यही हो । अर्थबाहक शब्द जब जिब्रो वा कलमबाट फुत्किन्छ, त्यो वक्ता वा लेखकको बशमा रहँदैन । बोलित वा लिखित शब्दको अर्थ अब लेखकको क्षेत्राधिकारबाहिर पर्छ । जब बोलियो वा लेखियो, त्यो आपूmदेखि उछिट्टिएर बाहिर गइसक्यो । अब त्यसको सुन्दर वा कुरुप, सकारात्मक वा नकारात्मक, हौसलाजनक वा निराशाजनक अर्थ लगाउने श्रोता वा पाठकले हो । त्यो अर्थ प्रायशः सामाजिक जीवनको सोपानमा श्रोता वा पाठकको स्थान र उक्त स्थानबाट निःसृत उसको विचार, संस्कार, रुचि एवं स्वार्थद्वारा निर्धारित हुन्छ । के वक्ता वा लेखकमा त्यो अर्थमा परिवर्तन, संशोधन वा परिमार्जन गर्ने न्यूनतम् हक वा सामथ्र्य पनि रहँदैन ? यो प्रश्नको उत्तरमा अन्तहीन विवाद निहित छ ।
मेरा रचना र विचारको मौलिकता तलमाथि नपारी यी जहिले र जहाँ पनि प्रकाशित वा प्रसारित हुन स्वतन्त्र छन् । अपेक्षा केवल सविनय सौजन्य र सानो सम्मतिको मात्र हो ।
अरुले सुनून्, पढून्, गुनून् र चर्चा गरुन् भनेरै सार्वजनिक माध्यममा विचार प्रकट गरिन्छ । यदि विचार प्रकाशनको प्रयोजन यो हो भने कुनै विचार जति धेरै माध्यममा प्रकाशित वा प्रसारित भयो उति नै राम्रो होइन र ? नेपाली जनको संख्या लगभग तीन करोड छ । कुनै प्रकाशन जतिसुकै व्यापक र लोकप्रिय किन नहोस्, त्यसले जनसंख्याको यो विशालताको एक सानो अंशलाई मात्र समेट्छ । कुनै प्रकाशन जतिसुकै सानो र कम लोकप्रिय किन नहोस्, त्यसले पनि अन्य याबत् प्रकाशनले समेट्न छुटेका कतिपय जनलाई समेट्छ नै । यसको अर्थ हो— एक माध्यममा प्रकाशित विचार तत्काल अर्को माध्यममा प्रकाशित हुँदा पनि त्यसले धेरथोर ताजा श्रोता वा पाठक पाएरै छाड्छ । देश–देशावरमा छरिएका श्रोता वा पाठकहरुको विशाल सागरमाथि कुनै पनि माध्यमको समग्र पहुँच वा एकछत्र प्रभुत्व किमार्थ हुँदैन । त्यसैले कुनै पनि प्रकाशन, ठूलो वा सानो, श्रोता वा पाठकविहीन जोगी वा वैरागी कहिल्यै हुँदैन ।
विचारमा दम र नाममा ओज हुने कतिपय विचारकका लेख–रचना एकै दिन विश्वभरिका दुई, तीन, चारवटा पत्रिका छापिन्छन् । जातले, वर्णले, धर्मले र भूगोलका रक्तरञ्जित सीमारेखाले सीमाबद्ध गर्न नसक्ने सशक्त विचारको उन्मुक्त विस्तारको भव्य दृष्टान्त हो यो । विशिष्ट आकर्षणयुक्त लेखकहरुका विचार यसरी फुक्काफाल विस्तारित हुनु उचित हो भने सामान्य लेखकहरुका विचारहरुलाई चाहिँ प्रकाशकीय सूचनाको कोर्रा हल्लाएर गतिशून्यतामा कैद किन गर्नु ?
कुनै एक माध्यममा प्रकाशित सिङ्गै लेख वा सिङ्गै पुस्तक अर्को माध्यममा प्रकाशन वा प्रसारण गर्दा पालना गर्नुपर्ने कतिपय लचिला कानुनी, नैतिक वा मर्यादाजन्य सूचनाउपर निश्चय नै लचिलो हुन सकिन्छ । तर प्रकाशकको अनुमतिविना कुनै लेख वा पुस्तकको अंशधरी उधृत गर्न नपाइने संरचना भने मेरालागि खतराको घण्टी हो । यो सूचना साँच्ची नै लागू हुँदो हो त म कति–कति पटक पक्राउ परी कालकोठरीमा जाकिँदो हुँ । धन्य कैलाशपति गँजडी बाबा ! यो सूचना निशाना बेगरको तोरिलाहुरे गोली तकाइ भएकोले आजसम्म म दण्डमुक्त छु ।
विचारको अति तीव्र र उन्मुक्त उडानको यो जमानामा सूचनाको कठोर कोर्राको बलले विचारलाई प्रकाशन विशेषको पिन्जरामा कैद गर्ने जिरह उचित हो र ?
हिजै–अस्तिसम्मकै कुरा त हो, पत्रिका वा पुस्तकमा व्यक्त विचार पानीजहाज वा हवाई जहाज चढेर विश्वमा विचरण गथ्र्यो । त्यो विचारको अपेक्षाकृत मन्द गतिको यात्रा थियो । जादुमयी इन्टरनेटको आविष्कारपछि विचार एकै पलमा विश्वभरि हुत्त फिँजिन्छ । विचारको अति तीव्र र उन्मुक्त उडानको यो जमानामा सूचनाको कठोर कोर्राको बलले विचारलाई प्रकाशन विशेषको पिन्जरामा कैद गर्ने जिरह उचित हो र ?
पत्रिका वा पुस्तकमा सञ्चित विचारको पुन: प्रकाशन वा प्रसारसम्बन्धी संहिताका सन्दर्भमा, मेरो विचारमा, लेखकीय कोणबाट भने एकाध शर्त विचारणीय छन् । गम्भीर, सान्दर्भिक र लोकोपयोगी लेख वा पुस्तक सम्बन्धित लेखकको कृषि, जागिर, व्यापार, निवृत्तिभरण, ब्याङ्क ब्यालेन्स वा सञ्चयकोष सबैथोक हो । त्यो उसको जिन्दगीभरिको शिक्षा, साधना, संघर्ष, तपस्या एवं निष्ठाको फल हो । त्यसैले लेख वा पुस्तकको पुनःप्रकाशन वा प्रसार गर्न त्यसको सर्वाधिकारी लेखकको सम्मति लिनु मर्यादित व्यवहार हो । यस्तो सम्मतिमा स्वभावतः केही ने केही लेखकीय दानापानी निहित हुने नै भयो । मलाई लाग्छ, यो सम्मति निर्माणको प्रक्रिया सरल, सहज र शीघ्र हुनु आवश्यक छ । लेख वा पुस्तकमा निहित विचारलाई ‘नियम–कानून’ नामक नोकरशाही झमेलाको अक्करमा अड्काएर सङ्कुचित वृत्तको कैदी तुल्याउनु लोकहितकारी सत्कर्मको सर्वथा विपरीत हो । यस्तो सङ्कुचनको हक वास्तवमा लेखक स्वयंलाई पनि छैन । कारण जीवन्त र सशक्त विचार लेखकको तजबिजमा चल्ने निरीह कमारो किमार्थ होइन ।
मेरा फुुटकर वा पुस्तकाकार विचारको हकमा मेरो अभिमत किञ्चित् खुकुलो र सहज छ । मेरा रचना र विचारको मौलिकता तलमाथि नपारी यी जहिले र जहाँ पनि प्रकाशित वा प्रसारित हुन स्वतन्त्र छन् । अपेक्षा केवल सविनय सौजन्य र सानो सम्मतिको मात्र हो ।
अभिवादन ।