सहमतिको प्रक्रिया आरम्भ – उपसभापति पौडेल, सहयोगका लागि धन्यवाद: देउवा
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रश्नावलीसम्बन्धी समिति गठनको घोषणासँगै सहमतिको प्रक्रिया आरम्भ भएको जानकारी दिनुभयो । एमाओवादी सहितका दलसँगसमेत सल्लाह गरी अघि बढ्ने बताउँदै उहाँले संविधान निर्माण कार्यमा संलग्न नभएर उहाँहरू कहाँ जाने ? भनी प्रश्न पनि गर्नुभयो । सहमतिका नाममा मुलुकलाई बन्धक बनाउन नहुने प्रतिक्रिया दिँदै उहाँले प्रश्नावली समिति गठनसँगै दलबीच देखिएको विवाद पनि हल भएको बताउनुभयो । दलबीच संवाद र सहमतिको प्रक्रिया सुरु गर्न आफू र आफ्नो पार्टी प्रयत्नशील रहने जानकारी दिँदै उपसभापति पौडेलले नेपाली जनताको भावनाअनुसार संविधान जारी गर्न दलहरू सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले प्रश्नावली समिति गठन प्रक्रियामा एमाओवादीलगायतका विपक्षी दलले ‘सहयोग गरेको’ भन्दै धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “सभाध्यक्ष नेम्वाङलाई पनि म धन्यवाद दिन्छु, शान्तिपूर्ण विरोध गरेर प्रतिपक्ष दललेसमेत सहयोग गरेको छ । म उहाँहरूलाई पनि धन्यवाद दिन्छु ।” उहाँले विवादित विषयमा सहमति कायम गर्न प्रयत्न गरिने र सहमतिमै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।