काली नदीखोलाछेउको तीन किलोमिटर सडकमा किन सधैं दुर्घटना हुन्छ ?


kaliपूर्व–पश्चिम राजमार्गको मेचीनगर खण्डमा पर्ने काली खोलादेखि निन्दा पुलसम्मको तीन किलोमिटर सडकलाई प्रहरीले ‘अति दुघर्टनाग्रस्त’ क्षेत्र घोषणा गरेको छ । राजमार्गको अन्य क्षेत्रको तुलनामा अत्यधिक सवारी दुर्घटना हुने गरेका कारण यसलाई दुर्घटनाग्रस्त क्षेत्र ठानेर दुर्घटना न्यूनीकरणका उपाय अपनाउन थालिएको प्रहरीको भनाइ छ । यस क्षेत्रमा बितेको डेढ सातामा तीनवटा ठूला दुर्घटना भएका छन् । ती घटनामा तीनजनाले ज्यान गुमाएको अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाले जनाएको छ । यस क्षेत्रमा यही अवधिमा आधा दर्जनभन्दा बढी सामान्य दुर्घटना पनि भएका छन् । प्रहरीका अनुसार पुस २५ गते मेचीनगर–११ को प्यारीभिट्टामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा शनिश्चरे–४ का ३३ वर्षीय टुकराज पोखरेलको मृत्यु भएको थियो । घटनामा अर्का एक गम्भीर घाइते भएका थिए । त्यसको चार दिनपछि फेरि त्यही ठाउँमा अर्काे दुर्घटना भयो जसमा मेचीनगर–५ का ३८ वर्षीय पुष्पकुमार चौधरीको ज्यान गएको थियो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा२५प २२६८ नम्बरको मोटरसाइकल राजमार्गमा रोकिराखेको मे१त ३०६० नम्बरको ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको थियो । त्यही ठाउँमा फेरि बुधबारमात्रै मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ । काँकडभिट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको बा१३प ८४९५ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा स्थानीय बिर्खबहादुर लिम्बूको मृत्यु भएको थियो । मोटरसाइकल चालक ताप्लेजुङ थेचम्बुका–२३ वर्षीय शैलेन्द्र लिम्बू गम्भीर घाइते छन् । उनको भारतको सिलगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सडकमा बत्ती नहुनु, रातको समयमा हिँड्डुल गर्ने पैदल यात्रीले टल्किने कपडा प्रयोग नगर्नु र चालकले सवारी चलाउँदा हेडलाइटको सही प्रयोग नगर्नु त्यस क्षेत्रमा बढी सङ्ख्यामा सवारी दुर्घटना हुनुका प्रमुख कारण भएको प्रहरीको दाबी छ । मोटरसाइकलका चालकले बढी आत्मविश्वासी भएर तीव्र गतिमा सवारी चलाउँदासमेत दुर्घटना निम्तिने गरेका ट्राफिक पोस्टका प्रमुख प्रहरी नायब निरीक्षक एकराज खड्का बताउनुहुन्छ । अति दुर्घटना हुने क्षेत्रमा प्रहरीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनामा जोड दिने गरी अभियान चलाउने र जाँच कडा पार्ने नीति अख्तियार गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?