नेपाली आकासमा आउँछन् विभिन्न देशका २६ वायुसेवा कम्पनीका जहाज, आफ्नै नयाँ विमान आएपछि यस्तो छ योजना नेपाल वायुसेवा निगमको
सरकारले हालसम्म ३६ देशसँग हवाई सम्झौता गरेको भएपनि २६ वटा वायुसेवा कम्पनीले मात्रै नेपालमा उडान गरिरहेका छन् । सहजरुपमा हवाई सेवा उपलब्ध गराउने उद्देश्यका साथ हवाई सम्झौता भएको भएपनि राष्ट्रिय ध्वजावहाकले उडान गर्न नसक्दा करोडौँ नेपाली रुपैयाँ विदेशिएको छ । सरकारले केही समयभित्रै नेपाल वायु सेवा निगमका लागि दुईवटा एयरवस जहाज ल्याउने तयारी गरेको छ । एयरबसले आगामी फेबु्रअरी ७ सम्म पहिलो जहाज नेपाललाई उपलब्ध गराउने बताएको छ । जहाज आएपछि नेपालले हवाई सम्झौता भएका मुलुकका प्रमुख गन्तव्यमा उडान भर्ने तयारी गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो । निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई ठूला जहाज ल्याउने सम्झौता गरिसकेको र त्यसमध्ये पहिलो जहाज छिट्टै आउन लागेको उहाँको भनाइ छ । नयाँ जहाजले भारतको राजधानी नयाँ दिल्ली, कतार, साउदी अरब, दुबई, मलेसिया, थाइल्याण्ड, हङ्कङलगायतका विभिन्न गन्तव्यमा उडान गर्ने गरी व्यावसायिक योजनासमेत तयार पारेको छ । प्रवक्ता सापकोटाले आन्तरिक र बाह्य दुवै क्षेत्रमा नियमित उडान गर्ने र निगमको साखलाई पुनः व्यावसायिक बनाउने लक्ष्य राखेको जानकारी दिँदै चीन सरकारले उपलब्ध गराएको जहाजमा देखिएको समस्या हल गर्न पनि मन्त्रालय र सरोकार भएका निकायसँग समन्वय गरेर काम गरिएको बताउनुभयो । चिनियाँ जहाजमा देखिएका सामान्य समस्याका आधारमा नकारात्मक धारणा बनाउन नहुने भन्दै उहाँले चरा ठोक्किनुजस्ता समस्या सामान्य भएको बताउनुभयो । यस्तै सरकारले बङ्गलादेशको ‘रिजेण्ट एयर’लाई ढाका–काठमाडौँ र मलेसियाको मालिन्दो एयरलाई क्वालालम्पुर–काठमाडौँको उडान गर्न पाउने गरी स्वीकृति प्रदान गरेको छ । पछिल्लो दिनमा चिनियाँ पर्यटक नेपाल भित्र्याएर ‘नेपाल सबै मौसम पर्यटकका’ लागि भन्ने सन्देश दिन सिचुवान एयरलाइन्सलाई उडान अनुमति दिन लागिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । यसैगरी श्रीलङ्काको श्रीलङ्कन एयरलाई पनि नेपाल आउने अनुमति दिन लागिएको जानकारी दिँदै उहाँले बौद्ध जन्मभूमिमा बौद्धमार्गी श्रीलङ्कालाई सहजरुपमा आवतजावत गर्न सहज वातावरण बनाउन लागिएको स्पष्ट पार्नुभयो । बुद्ध जन्मस्थल लुम्बिनी आउन चाहने श्रीलङ्काका पर्यटकले कोलम्बो–काठमाडौँ सिधा उडान हुन नसक्दा समस्या परेको यथार्थतालाई मध्यनजर गरेर उडान अनुमति दिन लागिएको हो ।
सेकुवा पसलका कारण विमानस्थलमा चरा बढे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा सेकुवा पसल, सुरक्षाकर्मी तथा कर्मचारीको आवासस्थल तथा भोजनगृह र मासु पसलका कारण चराको बिगबिगी बढेकाप्रति सरकार संवेदनशील रहेको प्रवक्ता सापकोटाको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थलमा चरा नियन्त्रणका लागि १२ जना सिकारी तैनाथ गरिएको भएपनि कुकुर, स्याल, मुसालगायत जनावरको पनि उपस्थिति बाक्लो रहेका कारण थप समस्या बढेको उहाँको कथन छ ।
आन्तरिक उडान गर्ने र हवाई खेल गराउने बढे
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाअनुसार हाल मुलुकभित्र १० वटा वायुसेवा कम्पनीले हवाई सेवा उपलब्ध गराइरहेका छन् भने सातवटा वायुसेवा कम्पनीले हेलिकोप्टर सेवा सञ्चालन गरिरहेका छन् । प्याराग्लाइडिङतर्फ चालु आवको हालसम्म १७ वटा कम्पनीले इजाजत प्राप्त गरिसकेका छन् । त्यसका लागि कास्कीको सराङकोट, मान्द्रेढुङ्गा र तोरेपानीलाई केन्द्र बनाएर प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । तनहुँको बन्दीपुर र ललितपुरको गोदावरी क्षेत्रमा उडान गर्ने गरी इजाजत प्रदान गरिएको छ । प्याराग्लाइडिङतर्फबाट चालु आवमा मात्रै निवेदन दस्तुरबापत रु एक लाख ८० हजार र इजाजत दस्तुरबापत रु आठ लाख ५० हजार गरी जम्मा रु १० लाख ३० हजार राजस्व प्राप्त भएको छ । चालु आवको हालसम्म पर्यटन विभागमा १९० दलले हिमाल आरोहण अनुमति लिएका छन् । त्यसमा एक हजार ५१५ जना आरोही पर्दछन् । त्यसैगरी १८ होटल, १२८ ट्राभल एजेन्सी, १०६ टे«किङ एजेन्सी, २१६ टुर गाइड, ४८१ ट्रेकिङ गाइड, १६ रिभर गाइड र एक ¥याफटिङ एजेन्सी दर्ता भएका छन् । चालु आवको हालसम्म पर्यटकीय गतिविधिबाट रु नौ करोड ३२ लाख ८९ हजार ९८६ राजस्व प्राप्त भएको छ । यस्तै सिद्धार्थ गौतम अन्तर्राष्ट्रिय विमानस्थल र सिमरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु भएको प्रवक्ता सापकोटाको भनाइ छ ।