संविधान निर्माणको प्रक्रिया अघि बढ्दै, प्रश्नावली समितिको बैठक १७ गते बस्ने, सभाध्यक्ष भन्छन्, अझै सहमति गर्ने ठाउँ छ
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समितिको बैठक यही माघ १७ गते दिउँसो १ बजेका लागि बोलाउनुभएको छ । एकीकृत नेकपा (माओवादी)लगायतका विपक्षी दलको विरोधका बीचमा सभाध्यक्ष नेम्वाङले आइतबार बसेको संविधानसभाको बैठकमा सो समिति गठनको प्रस्ताव गर्नुभएको थियो । कूल ७३ सदस्यीय सो समितिमा हाल नेपाली काँग्रेस, नेकपा(एमाले), राप्रपा नेपाल, राप्रपा, नेकपा(माले), नेकपा(संयुक्त), परिवार दल, बहुजनशक्ति पार्टीलगायत दुई स्वतन्त्र सभासद् रहेका छन् । आइतबार ४९ सदस्यीय समिति गठन गरिएको र बाँकी सदस्य विपक्षी दलका लागि राखिएको छ । संविधान निर्माणमा देखिएका प्रमुख विवादित विषयमा प्रश्नावली निर्माण गर्ने जिम्मा सो समितिलाई दिइएको छ । समितिको बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । समितिले विवादित विषयमा प्रश्नावली बनाउन पाँच दिनको समय पाएको छ । संविधानसभामा विपक्षी दलले लगातार अवरोध गरेपछि सभाध्यक्ष नेम्वाङले आइतबार आफैँ प्रश्नावली समितिको घोषणा गर्नुभएको थियो । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘‘विवादित विषयमा प्रश्नावली बनाइए पनि सहमति गर्न सक्ने ठाउँ र समय रहेको छ ।’’ एमाओवादीलगायतका विपक्षी दलले आफूलाई सहमतिका लागि १० दिनको समय मागेको भएपनि आफूले ११ दिन समय दिएको जानकारी गराउँदै सभाध्यक्ष नेम्वाङले सबै दलको सहमतिमा नै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले द्वन्द्व बढाएर नहुने, सहमतिमा नै संविधान जारी गर्नुपर्नेमा जोड दिँदै आवेग र उत्तेजनाले काम नगर्ने धारणा राख्नुभयो ।