एमालेको स्थायी कमिटी बैठक, संविधान सुनिश्चित गर्न थप पहल पार्टीले गर्नुपर्ने ठहर


cpn umlनेकपा (एमाले)को स्थायी कमिटीको पाँचौँ बैठकले यही माघ ११ गते संविधानसभाबाट विवादित विषयमा प्रश्नावली तयार गर्न ‘प्रस्ताव निर्माण समिति’ गठन हुनाले संविधान निर्माणको कामलाई सुनिश्चित बनाउन योगदान पुगेको ठहर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको सो बैठकमा यही माघ ८ गतेभित्र संविधान जारी गर्ने संविधानसभाको सङ्कल्प र जनताको अपेक्षा विपरीत एनेकपा (माओवादी) नेतृत्वको मोर्चाको ‘अनुत्तरदायी व्यवहार र अवरोध’का कारण पूरा हुन नसकेको पनि जनाएको छ । बैठकपछि महासचिव ईश्वर पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा प्रश्नावली निर्माणको प्रक्रिया प्रारम्भ भए पनि वार्ता र संवादका माध्यमबाट सहमति खोज्ने प्रयास जारी नै रहेको र अहिले पनि एमाले सम्भव भएसम्म सहमतिकै माध्यमबाट अगाडि बढ्न चाहेकामा जोड दिँदै विपक्षी दललाई बहिष्कार, निषेध र सडक आन्दोलनको बाटो छाडेर सहमतिको प्रक्रियामा सामेल हुन पुनःआह्वान गरिएको छ । बैठकले केही दिनयता बजारमा खाना पकाउने ग्यासको हाहाकार सिर्जना भएर सर्वसाधारण जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको स्थितिप्रति चिन्ता व्यक्त गर्दै कालोबजारियाको नाफाखोर प्रवृत्ति, गैरजिम्मेवार व्यवहार र बदनियतपूर्ण कदमको रोक्न सरकारसँग माग गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?