अहिलेको संविधानसभाबाट जसरी पनि संविधान ल्याउने उपप्रधानमन्त्री प्रकाशमान सिंहको दाबी, विपक्षीले जनताको अपमान गरेको आरोप
उपप्रधानमन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रियाबाटै संविधान जारी हुने बताउनुभएको छ । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३५औँ वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो–“अघिल्लो संविधानसभा त्यत्तिकै गुमायाँै, अहिलेको संविधानसभाबाट जसरी पनि संविधान ल्याउनैपर्छ, सकेसम्म सहमति नभए विधि र प्रक्रियाबाट संविधान जारी गर्न यो संविधानसभा चुक्दैन ।” सङ्घीय मामिला तथा स्थाीनय विकासमन्त्री सिंहले संविधानसभा नियमावली विधि र प्रक्रियाअनुरुप अघि बढ्दा विपक्षी दलले बाधाव्यवधान खडा गर्नु भनेको जनताको अपमान हो भन्दै यसले उनीहरूलाई नै घाटा हुने विचार व्यक्त गर्नुभयो । गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न क्याम्पसले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै उहाँे आजको प्रतिस्पर्धी जमानामा रोजगारमूलक गुणस्तरीय शिक्षाका लागि सरोकार भएकाहरूको ध्यान जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सभासद्द्वय सावित्रा भुसाल र विक्रम थापा तथा पूर्वमन्त्री होमनाथ दाहाल र पत्रकार देवेन्द्र गौतम तथा क्याम्पस प्रमुख अपराजिता अर्यालले विद्यालयले नारी शिक्षामा पहुँच अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सो अवसरमा विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनाका साथै विद्यालयद्वारा प्रकाशित ‘पुष्पाञ्जलि’ स्मारिकाको विमोचन गरिएको थियो ।
उपत्यकाको नमुना कन्या क्याम्पस
शिक्षामा नारीको पहुँच बढाउने उद्देश्यले समाजसेवी र शिक्षाविद्को सक्रियतामा विसं २०३७ मा सो क्याम्पस सामुदायिक क्याम्पसका रूपमा स्थापना भएको हो । उपयुक्त शैक्षिक वातावरण, उत्कृष्ट नतिजा र सस्तो शुल्कका कारण विद्यार्थीको आकर्षण मात्र नभई उपत्यकाकै नमुना कलेजका रूपमा क्याम्पस स्थापित हँुदै गएको प्रा बाबुराम पौडेल बताउनुहुन्छ । महँगो शुल्क तिरेर निजी क्याम्पसमा अध्ययन गर्नेहरूलाई चुनौती दिँदै सस्तो र शुल्कमा गुणस्तरीय शिक्षा दिनु सो क्याम्पसको विशेषता हो । क्याम्पस त्रिविमा सात पटक उत्कृष्ट भएको छ । सार्वजनिक बिदाका दिनमा पनि क्याम्पस सञ्चालन हुने र कुनै पनि राजनीतिक गतिविधि नहुने जस्ता कारणले क्याम्पसको शैक्षिक गुणस्तरीय बन्दै गएको प्रा पौडेलको भनाइ छ । स्नातक तहमा ६० प्रतिशतभन्दा बढी र स्नातकोत्तर तहमा ९० प्रतिशत नजिता हासिल गर्नाले पनि क्याम्पसको गुणस्तरलाई उजागर गर्छ । स्थापनाकालमा १७ विद्यार्थी र सात प्राध्यापकबाट सुरु भएको सो क्याम्पसमा हाल एक हजार छ सयभन्दा बढी विद्यार्थी तथा ८० प्राध्यापक र १४ कर्मचारी छन् । यहाँ मानविकीतर्फ स्नातक र स्नातकोत्तर (अङ्ग्रेजी र समाजशास्त्र), व्यवस्थापनतर्फ स्नातकोत्तर एवं शिक्षाशास्त्रतर्फ स्नातक तह सञ्चालित छन् ।