निशस्त्र दोश्रो जापानीलाई आतंकवादी समूहले हत्या गरेको बताएपछि जपानमा आक्रोश
इस्लामिक आतङ्कवादी समूह आइएसले प्रशारण गरेको ताजा भिडियो सन्देशमा जापानी नागरिक केन्जी गोतोको हत्या गरेको आशङ्कित समाचार आएको छ । उक्त आशङ्कित हत्याउपर जापानी प्रधानमन्त्री सिन्जो आबेले आइतबार बिहान सवेरै कडा शब्दमा निन्दा गर्नुभएको छ । आइएसले प्रशारण गरेको भिडियो सन्देशमा आफूले कब्जा गरेको एकजनालाई हत्या गरिदिएको र उक्त व्यक्ति जापानी नागरिक हुनसक्ने उल्लेख गरेको बताइएको छ । एक मिनेट जतिको सो भिडियो प्रशारणमा गोतो जस्ता लाग्ने एकजना मानिस सुन्तले रङ्को कपडामा भुइँमा घुँडा टेकेर उभिएको र सो व्यक्तिको पछाडि सर्वाङ्ग कालो लुगा र मुखमा नकाबसमेत लगाई हातमा छुरा लिएर चम्काइरहेको एक व्यक्तिलाई देखाइएको थियो । उक्त नकाबधारी व्यक्तिले ‘कहिल्यै जित्न नसकिने युद्धमा होमिएर जापानी प्रधानमन्त्री सिन्जो आबेले घृणित निर्णय गरेकाले मेरो छुरीले गोतोलाई मात्र नभई भेटेसम्मका आमजापानी जनताको पनि शिरच्छेदन गर्ने छ ।’ भनि कराइरहेको दृष्य समेत देखाइएको थियो । स दृष्यले गोतोको परिवार र जापानी जनतामाझ निकै कोलाहल मच्चिएकोले प्रधानमन्त्री आबेले सो घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ ।