आईपीएलमा कोलकताको जित, प्लेअफमा पुग्ने सम्भावना कायमै !


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा कोलकताले राजस्थानलाई ६० रनले हराउँदै अंक तालिकाको चौथो स्थानमा पुगेको छ । टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो।

कोलकताका लागि कप्तान इयोन मोर्गनले आक्रमक ब्याटिङ गर्दै धर्मराएको कोलकताको ब्याटिङ उकासेका थिए। उनले ३५ बलमा ६८ रन जोड्दै अभिजित रहे । त्यस्तै, राहुल त्रिपाठीले ३९ रन बनाउँदा शुभमन गिलले ३६ र आन्द्रे रसेलले २५ रन बनाए ।

उता राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक ३ विकेट लिँदा कार्तिक त्यागीले २ विकेट तथा जोफ्रा आर्चर, श्रेयस गोपाल र समान १र१ विकेट लिए । १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन मात्रै बनाउन सक्यो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाउँदा राहुल तेवातियाले ३१ रन जोडे। त्यस्तै, श्रेयश गोपालले २३ रन तथा बेन स्टोक्सले १८ रन जोडे । कोलकताका लागि प्याट कमिन्सले सर्वाधिक ४ विकेट लिँदा वरुण चक्रवर्ती र शिवम मावीले २र२ तथा कमलेश नगरकोटीले एक विकेट लिए ।

कोलकाताले प्ले अफको यात्राका लागि भने रोयल च्यालेन्जर्स बैङ्लोर र दिल्ली क्यापिटल्स तथा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलको नतिजा कुर्नुपर्ने छ । अहिले दोस्रो, तेस्रो र चौँथो स्थानमा रहेका बैङ्लोर, दिल्ली र कोलकाताको समान १४ अंक छ । सोमबार हुने बैङ्लोर र दिल्लीको खेलमा ठूलो अन्तरको जितहार भए हार्ने टीमको रनरेट घटेर कोलकाताभन्दा तल जान सक्छ । त्यसो हुँदा कोलकाता प्ले अफमा पुग्न सक्छ ।

बैङ्लोर र दिल्लीबीच साँघुरो जितहार भए यी दुई टीम नै प्ले अफमा पुग्छन् । तर, आज हुने खेलमा मुम्बई विजयी भए कोलकाताको अघिल्लो चरणको यात्रा पक्का हुनेछ । हैदराबादले जिते पाचौँ स्थानमा झर्दै कोलकाता बाहिरिन्छ । सबै संभावना कायम रहेकाले प्ले अफ पुग्ने प्रतिश्पर्धा रोचक बनेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?