सिड्नीका बालबालिकाको लागि समर क्याम्पमा नेपाली संस्कारको दीक्षा


Swamiनेपाली संस्कार ज्ञाता डा.चिन्तामणि योगीले शनिबार सिड्नीमा एकदिने समर क्याम्प सञ्चालन गर्नुभयो । बालबालिकाहरुलाई लक्षित गरी सञ्चालित यस कार्यक्रममा मुख्यतः उनीहरुलाई करिब सात घण्टा विविन्न विषयमा जानकारी दिइएको थियो । बालबालिकाहरुलाई आफ्नो परिवार, आफ्नो देश, आफ्नो भाषा, संस्कार र संस्कृतिका विषयमा डा.चिन्तामणि योगीले जानकारी गराउनुभएको थियो । एनआरएन अष्ट्रेलियासहित विभिन्न संस्थाको सहकार्यमा सम्पन्न कार्यक्रममा सहभागी भएका बालबालिकाहरुले नेपाली शब्दज्ञान, परवारसँग गर्नुपर्ने व्यवहार, आमाबाबुप्रतिको कर्तव्य आदिका विषयमा दिक्षा पाएको डा.योगीले जानकारी दिनुभएको छ । दिनभरको समर क्याम्प समापनमा बोल्दै विभिन्न वक्ताहरुले यस किसिमको कार्यक्रमलाई विश्वभर नै फैलाउन सके नेपाली संस्कार र संस्कृतिबाट बालबालिका टाढा नहुने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि न्यू साउथवेल्सका अवैतनिक महावाणिज्यदूत दिपक खड्का हुनुहुन्थ्यो भने अतिथिहरुमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, एनआरएन आईसीसी सचिव रञ्जु वाग्ले, एनआरएन प्रवक्ता मन केसी, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसी, एनआरएन संरक्षक ईन्द्रा वन, समाजका अग्रज नारायण प्रधान, एनआरएन ओसियाना क्षेत्रीय संयोजक विष्णु हमाल, एनआरएन आईसीसी युथ डेपुटी कोअर्डिनेटर कृष्ण गिरी लगायत हुनुहुन्थ्यो । बालबालिकाहरुलाई गीत, संगीतका माध्यमबाट दिक्षा प्रदान गरिएको थियो । यस्तै विभिन्न खेल गतिविधिबाट पनि उनीहरुलाई मनोञ्जन गराइएको थियो । कार्यक्रममा बोल्दै डा.चिन्तामणि योगीले नेपालसँग नेपाली बालबालिकाहरुलाई जोड्न पाउँदा आपूm हर्षित रहेको बताउनुभयो । करिब एक महिना लामो अष्ट्रेलिया भ्रमणमा आउनुभएका डा.योगी यतिबेला ब्रिसबेनमा हुनुहन्छ भने बुधबार एडिलेड जाने कार्यक्रम छ । त्यहाँ केही विश्वविद्यालयहरुमा प्रवचन र कार्यशाला सम्पन्न गरेपछि फेब्रुअरी ११ मा सिंगापुर जाने कार्यक्रम रहेको उहाँले बताउनुभयो । सिड्नीअघि मेलबर्न र पर्थमा पनि यस्तै विविध कार्यक्रम भएका थिए । बालबालिकासँगै नेपाली र भारतीय समूदायका व्यक्तिहरुसँग सत्संग सम्पन्न गरिएको छ । ब्रिसबेनमा आईतबार त्यहाँ रहेको लक्ष्मीनारायण मन्दिरमा भारतीय र नेपाली समूदायका व्यक्तिहरु सम्मिलित कार्यक्रममा गीता दर्शनका विषयमा प्रवचन दिइएको थियो । डा.चिन्तामणि योगीको प्रवचनले भारतीय समूदायमा पनि नेपालीहरुको छुट्टै छाप छोड्न सफल भएको सहभागीहरुले बताएका छन् । उक्त कार्यक्रममा १ सय ५० भन्दा बढी व्यक्तिहरु सहभागी बनेका थिए । यसैगरी डा.चिन्तामणि योगीले एनआरएनको एक डलर कापी कलम अभियान पनि सञ्चालन गरिरहनुभएको छ जसमा विदेशमा रहेका नेपाली बालबालिकाहरुलाई एक महिनामा एक डलर जम्मा गर्न लगाइन्छ । र, वर्षको अन्तिममा त्यसमा रहेको १२ डलर नेपालमा रहेका बालबालिकाको सहयोगका निम्ति पठाईन्छ । यसले हरेक महिना बालबालिकाहरुको मस्तिष्कमा मैले नेपालको निम्ति केही गर्नुपर्दछ भन्ने भावना विकास हुने पनि उहाँले जानकारी दिनुभयो । यस अभियानलाई अघि बढाइरहेका एनआरएन आईसीसी युथ फोरम उपसंयोजक कृष्ण गिरीले गैरआवासीय नेपाली संघमा भोलिको नेतृत्व विकासका निम्ति समेत सहयोगी हुने किसिमले बालबालिकाहरुलाई देश, भाषा, संस्कृति र संस्कारप्रति परिचित गराउन, जिम्मेवारी बोधका निम्ति पनि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिड्नी लगायत अष्ट्रेलियामा भएका कार्यक्रममा उत्साहजनक सहभागिता भएको भन्दैसहभागी सबैलाई धन्यवाद दिनुभयो । (कार्यक्रमका तस्वीरहरु फेसबुक पेजमा हेर्नुहोला)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?