नेपालका लागि वरदान हुनसक्छ चिनियाँ तेस्रो पुस्ताको ‘हाइब्रिड धान’
तेस्रो पुस्ताको धानको उत्पादन मात्र बढ्दा चीनमा एक वर्षमै दसौँ अर्ब किलो बढी धान उत्पादन हुने संभावना रहेको छ ।
यही कात्तिक १७ गते सोमबार चीनको हुनान प्रान्तमा पहिलोपटक उत्पादित चिनियाँ तेस्रो पुस्ताको वर्णशंकर धान प्रदर्शन गरियो । हुनान प्रन्तको हङनान काउन्टीमा आयोजित सो प्रदर्शनीमा तेस्रो पुस्ताको चिनियाँ वर्णशंकर धान ०.०७ हेक्टरमा १५३०.७६ किलो उत्पादन भएको जानकारी दिइयो । उक्त धानको उत्पादन मात्राले अहिलेसम्मकै नयाँ रेकर्ड सिर्जना गरेको छ । अहिले परीक्षणको रुपमा पहिलोपटक उत्पादित चिनियाँ तेस्रो पुस्ताको वर्णशंकर धानले विभिन्न क्षेत्रमा नयाँ रेकर्ड सिर्जना गरेको छ । समाचारमा जनाइए अनुसार प्रति हेक्टर जमिनमा २१ हजार ४ सय ५० किलो धान उत्पादन भएको छ । परीक्षणका रुपमा यो धान चीनको हुनान प्रान्तको हङनान काउन्टीमा यही वर्ष रोपिएको थियो। सामान्य धानको तुलनाम तेस्रो पुस्ताको वर्णशंकर धान उल्लेख्य रुपमा बढी उत्पादन हुने बताइएको छ ।
यो धानको एक बालामा ६ सयभन्दा बढी दाना लाग्ने गर्छ जुन सामान्य धानको भन्दा तीन गुणा बढी हो । चामलको लम्बाई अन्य धानको बराबर भए पनि तेस्रो पुस्ताको धानको चामल बढी मोटो हुने गर्छ। फलस्वरुप यसको तौल पनि बढी हुने गर्छ । चीनका धान वैज्ञानिक ९० वर्षीय युआन लोङफिङलाई वर्णशंकर धानका पिता मानिन्छ। उनले सन् १९७० को दसकमा विश्वमै पहिलोपटक वर्णशंकर धानको आविष्कार गरेका थिए । अहिले उनै युआनको टोलीले तेस्रो पुस्ताको वर्णशंकर धानको आविष्कार गरेको हो । चीनमा २५ करोड मु (एक मु बराबर ६६७ वर्ग मिटर) क्षेत्रफलमा वर्णशंकर धान खेती हुँदै आएको छ । तेस्रो पुस्ताको धानको उत्पादन मात्र बढ्दा चीनमा एक वर्षमै दसौँ अर्ब किलो बढी धान उत्पादन हुने संभावना रहेको छ ।
हुनान प्रान्तमा मात्र यो वर्ष गत वर्षकोभन्दा आधा बढी धान उत्पादन हुने बताइएको छ । चीनमा सामान्य धान प्रति मु ३०० किलो उत्पादन हुने गर्दछ । अन्य धानको तुलनामा तेस्रो पुस्ताको वर्णशंकर धान अधिक उत्पादन हुनेछ किन भने यो धान एक मुमै ११ सय किलोसम्म उत्पादन हुन सक्छ। जी ३-१ एस/पी१९ नाम रहेको तेस्रो पुस्ताको वर्णशंकर धानको मुख्य विशेषता भनेको रोपेको छोटो समयमै परिपक्व हुनु हो । यो धान १२५ दिनमै परिपक्व हुन्छ । दोस्रो पुस्ताका चिनियाँ वर्णशंकर धान परिपक्व हुन १६० देखि १८० दिन लाग्छ। तीन महिनाभन्दा कम समयमै पाक्ने भएकाले तेस्रो पुस्ताको धानबाट किसानको लगानी र सयम बचाउँछ र सबै पक्षलाई फाइदा पुग्ने गर्छ। दोस्रो पुस्ताको वर्णशंकर धानको तुलनामा तेस्रो पुस्ताको धानलाई कम सिचाइ र कम मल चाहिने चाइना डेली पत्रिकाले लेखेको छ ।
सन् २०१७ को अक्टोबर १५ मा युआनले बनाएको दोस्रो पुस्ताको वर्णशंकर धान प्रति मु ११४९ किलो फलेर विश्व रेकर्ड कायम गरेको थियो। सन् २०१९ को अक्टोबर २२ मा चीनको राष्ट्रिय वर्णशंकर धान इन्जिनियरिङ प्रविधि अनुसन्धान केन्द्रले तेस्रो पुस्ताको वर्णशंकर धानको अनुसन्धान सुरु गरेको थियो। तेस्रो पुस्ताको वर्णशंकर धान सरदर प्रति मु १०४५ किलो उत्पादन हुने मानिएको थियो। चिनियाँ वर्णशंकर धानले विश्वमै खाद्य सुरक्षामा महत्वपूर्ण योगदान दिँदै आएको छ। अहिले चीनले विश्वका २० प्रतिशत मानिसलाई खुवाउँछ तर विश्वको ९ प्रतिशत उब्जाउयोग्य जमिन मात्र चीनसँग रहेको छ। चीनले आविष्कार गरेको दोस्रो पुस्ताको धान नेपाल लगायत मडागास्कर नाइजेरिया र अरु अफ्रिकी मुलुकमा खेती गरिँदै आएको छ। खेती गरिएका मुलुकमा पनि सो धानले राम्रो प्रतिफल दिँदै आएको छ ।
युआन लोङफिङ र उनको समूहले अहिलेसम्म १४ हजारभन्दा बढी वर्णशंकर धानका प्रविधिहरुको आविष्कार गरिसकेको छ। यस्ता धानहरु ८० विकासोन्मुख मुलुकहरुमा खेती गरिँदै आएको छ। हाल ४० भन्दा बढी मुलुकले ती धानबाट राम्रो प्रतिफल प्राप्त गरेको बताउँदै आएका छन् । विश्वका विभिन्न देशमा चिनियाँ वर्णशंकर धानको खेती गरिएको क्षेत्रफल ७० लाख हेक्टरभन्दा बढी पुगेको छ र स्थानीय धानभन्दा कम्तिमा २० प्रतिशतले चिनियाँ वर्णशंकर धानको उत्पादन हुने ती देशका तथ्याङ्कले बताउँछ । चिनियाँ वर्णशंकर धानले चिनियाँ जनता मात्रै होइन विश्व खाद्यान्न सुरक्षामा पनि महत्वपूर्ण योगदान दिएको छ । हाल विश्रवका चालीसभन्दा बढी मुलुक तथा क्षेत्रमा वर्णशंकर धान रोपिने भएकाले चिनियाँ वर्णशंकर धान खेतीको क्षेत्रफल ७० लाख हेक्टर हुनुका साथै स्थानीय धानभन्दा २० प्रतिशत बढी उत्पादन वृद्धि भएको छ। जलवायु परिवर्तनले गर्दा विश्वमा अन्न उत्पादन क्रमशः घट्दै गएको छ। जनसङ्ख्याको वृद्धिको अनुपातमा खाद्यान्न उfत्पादनमा आएको न्युनीकरणले विशेष गरी विकासोन्मुख मुलुकहरुका सामु गम्भीर चुनौति सिर्जना गरिदिएको छ ।
सम्झौता अनुसार सन् २०१६ देखि तीन वर्षे चाइना नेपाल प्राविधिक सहयोग परियोजनामार्फत परीक्षणका रुपमा भक्तपुरमा लगाइएको चिनियाँ हाइब्रिड धान उत्पादनमा वृद्धि भएको पाइएको हो ।
अनि यही चुनौतिको जाँतोमा नेपाल पनि पिसिदै आएको छ। नेपाली कृषिभूमि बाँझो राख्दै नेपाली युवापुस्ता विदेश पलायन हुने क्रम बढ्दै गएको छ । विगत तीन दशकमा नेपालमा खती गर्ने परम्परामा कमी आएको छ। कृषिप्रधान देश भनेर औपचारिकता निर्वाह गरिँदै आए पनि वर्षेनी अर्बौँ रुपैयाँको खाद्यान्न र कृषि सामग्री विदेशबाट आयात गर्नुपर्ने बिडम्बना चुलिँदै आएको छ । यस्तो अवस्थामा चीनले आविष्कार गरेको तेस्रो पुस्ताको वर्णशंकर धानले नेपाली कृषि क्षेत्रलाई पनि महत्वपूर्ण टेवा दिन सक्ने ठानिएको छ । दोस्रो पुस्ताको चिनियाँ वर्णशंकर धान नेपालमा पनि उत्पादन गर्नका लागि चार वर्ष अगाडि नेपाल र चीनबीचमा सम्झौता भएको थियो । सो सम्झौता अनुसार परीक्षणका रुपमा लगाइएको चिनियाँ हाइब्रिड धानको उत्पादन चारगुणाले वृद्धि भएको नेपाली संचारमाध्यमले सम्प्रेषण गरेको समाचारमा उल्लेख छ। सो सम्झौता अनुसार सन् २०१६ देखि तीन वर्षे चाइना नेपाल प्राविधिक सहयोग परियोजनामार्फत परीक्षणका रुपमा भक्तपुरमा लगाइएको चिनियाँ हाइब्रिड धान उत्पादनमा वृद्धि भएको पाइएको हो । सो समयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), चिनियाँ टोली, चाइना नेपाल प्राविधिक सहयोग परियोजना, कृषि वनस्पति महाशाखाको सहकार्यमा मध्यपुरथिमिमा करिब १२ रोपनी जग्गामा परीक्षणका रुपमा एलपिएम बिआर १६२८ र एलपिएम बिआर १६३२ जातको धानको लगाइएको थियो ।
नेपाल र चीनबीचमा भएको सम्झौता अनुसार विभिन्न चिनियाँ ६७ जातका वर्णशंकर धानको परीक्षण नेपालमा सुरु गरिने उल्लेख थियो। चिनियाँ तेस्रो पुस्ताको वर्णशंकर धानले नेपाल लगायत विकासोन्मुख कृषि प्रधान देशलाई टेवा पुग्ने र खाद्य सुरक्षामा अहं भूमिका निर्वाह गर्ने ठानिएको छ। चीनले आविष्कार गरेको तेस्रो पुस्ताको वर्णशंकर धान नेपालका लागि पनि वरदान हुनसक्छ । नेपाल सरकारले चीनसँग सहकार्य गरेर चाँडै तेस्रो पुस्ताको वर्णशकर धान भित्र्याउने जर्मको गर्नुपर्छ ।