संविधान बनेर सबैको हक अधिकार सुनिश्चित हुने प्रधानमन्त्री कोइरालाको भनाई, विपक्षीले भ्रमको खेती गरेको आरोप


?????????????????????????प्रधानमन्त्री कोइरालाले दलहरूको प्रतिबद्धताअनुसार माघ ८ मा संविधान नआए पनि अब संविधान निर्माणको प्रक्रिया अघि बढिसकेकाले निराश हुने अवस्था नभएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा संविधान निर्माणका बारेमा ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री कोइरालाले सबैको प्रतिबद्धताअनुसार माघ ८ मा संविधान नआएको बताउँदै अब प्रक्रियामा गएर भएपनि संविधान निर्माणको कार्य अघि बढेकाले निराश हुने अवस्था नरहेको जिकिर गर्नुभयो । संविधानसभाले हालै गठन गरेको प्रस्ताव निर्माण समितिको गठनका बाबजुद पनि आफूहरू लचकताकासाथ वार्ताका लागि तयार भएपनि विपक्षीहरूले विभिन्न शर्त तेस्र्याएर अवरोध खडा गरेको जानकारी गराउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “सहमतिका नाममा अनन्तकालसम्म अन्यौल रहन सक्दैन, सहमति नभए आन्दोलनमा जान्छौं भनेर सहमति हुदैन ।” आफू सधैँ सबैको प्रतिनिधित्व र सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्छ भन्ने अभिमतमा रहेको बताउँदै अब कोही वार्तामा नआएपनि जनताको भावनाअनुसार प्रक्रियाबाट संविधान बन्ने स्पष्ट पार्नुभयो । एकीकृत नेकपा (माओवादी) लगायतका दलहरूले संविधानसभाले निर्माण गरेको प्रस्ताव समिति खारेज गर्न माग गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “जनताको सार्वभौम अधिकार सम्पन्न संविधानसभाले गठन गरेको समिति खारेज गर्ने म को हुँ ?” माघ ८ को नजिक मधेसी मोर्चाका तर्फबाट विजय गच्छदारले सबैलाई उचित हुने सहमतिको प्रस्ताव ल्याएपनि एनेकपा माओवादीले नमानेको प्रसङ्ग उल्लेख गर्दै उहाँले विवादित विषयमध्ये सङ्घीयताबाहेकमा सहमति भएपनि त्यसको पालना नगर्दा समस्या आएको बताउनुभयो । संविधान जारी भएमात्रै आदिवासी, जनजाति र पिछडिएका अल्पसङ्ख्यक सबैका हक अधिकार सुनिश्चित हुने भन्दै उहाँले त्यसमा एमाओवादीलगायतका दलहरूले अफवाह फैलाएको आरोप लगाउनुभयो । प्रधानमन्त्री कोइरालाले मुलुकमा शान्तिप्रक्रियापछि विकासका ढोका खुल्नुका साथै अन्तर्राष्ट्रिय लगानी बढेकाले अब आन्दोलन र धम्कीको औचित्य नरहेको जिकिर गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?