ट्रान्स एसिया एयरवेजको दुर्घटनाग्रस्त विमानबाट अझै १७ बेपत्ता
ताइवानको ट्रान्सएसिया एयरवेजले सञ्चालन गरेको टर्बोप्रोप यात्रुवाहक विमान एक नदीमा खस्दा कम्तीमा 25 व्यक्तिको बुधबार मृत्यु भएको छ । यो गत सात महिनामा यस विमान सेवाले सञ्चालन गरेका विमान दुर्घटना भएको दोस्रोपटक हो । विमानस्थलको नियन्त्रण टावरमा हतास भएका विमान चालकले इन्जिनमा आगो लागेको र सहयोग मागेको आवाज विमानसञ्चालन कक्षबाट सुनिएको स्थानीय टेलिभिजनले सुनाएको छ । उड्डयन अधिकारीहरूले भने आफूहरूले विमानसञ्चालन कक्षको आवाज रेकर्ड भएको कुरा सार्वजनिक नगरेको तर व्यक्तिगत रेडियो अनुगमन गर्ने व्यक्तिहरूले सो आवाज सुनाएको हुनसक्ने बताएका छन् । यससम्बन्धी एक भिडियोचित्रमा टान्सएसियाको एआरटी ७२–६०० विमान एक सडकमा ठक्कर खाएको र नदीमा पुगेको देखाइएको छ । उक्त विमानले एक ट्याक्सीलाई पनि ठक्कर दिएको उक्त भिडियोचित्रमा देखाइएको छ । एक प्रत्यक्षदर्शीले टीभीबीएस समाचार च्यानललाई आफूले उक्त विमानको एक पखेटाले एक ट्याक्सीलाई ठक्कर दिएको देखेको बताए । उद्धार अधिकारीहरूले १५ व्यक्तिलाई विमानको भग्नावशेषबाट बाहिर निकालेको तर २२ व्यक्तिको मृत्युभएको विश्वास गरिएको जानकारी दिएका छन् । 17 व्यक्ति अझै हराइरहेका छन् । उक्त विमानमा रहेका धेरै यात्रु चिनियाँ पर्यटक रहेको बताइएको छ । ट्रान्सएसिया एयरवेजको विमान गत केही महिनामा दुर्घटना भएको यो दोस्रोपटक हो । सो विमान सेवाले सञ्चालन गरेको अर्को विमान जुलाइमा दुर्घटना हुँदा ४८ व्यक्तिको मृत्युभएको थियो ।