एमाओवादी र मधेसी मोर्चालाई वार्तामा आउन एमालेको आह्वान
नेकपा (एमाले) स्थायी कमिटी बैठकले एकीकृत नेकपा(माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फेरि सहमति र वार्तामा आएर संविधान लेखनमा सहभागी हुन आह्वान गरेको छ । एमाले पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बसेको बैठकमा एमाओवादी र मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि पार्टी हदैसम्मको लचिलो हुनुपर्ने बैठकमा छलफल भएको एमाले सचिव प्रदीपकुमार ज्ञवाली बताउनुभयो । बैठकले नेपाली जनताले मुलुकमा स्थायी शान्ति र संविधान बनोस् भन्ने चाहाना भएको तर अहिले आन्दोलन गर्ने नभएको निष्कर्ष निकालेको छ । यही माघ ५ गते एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्ता सकारात्मक भएको बताउँदै बैठकले आगामी दिनमा पनि वार्तालाई जारी राख्नुपर्नेमा जोड दिएको सचिव ज्ञवालीले जानकारी दिनुभयो । कार्यविभाजनलगायत विषयमा छलफल गर्न आइतबार मध्याह्न १२ बजे पुनः बस्ने गरी बैठक सकिएको छ ।