अकल्याण्ड घोषणापत्र जारी गर्दै पहिलो ओसियाना क्षेत्रीय वैठक सम्पन्न, संविधान बनेपछि आर्थिक सम्बृद्धिका लागि हातेमालो गर्न एनआरएन प्रतिरक्षारत
गैरआवासीय नेपाली संघको ओसियाना क्षेत्रिय बैठक शनिबार न्यूजिल्याण्डको अकल्याड शहरमा सम्पन्न भएको छ । “अनेकतामा एकता” भन्ने मुख्य नारा तय गरिएको यस बैठकले ९ बुँदे घोषणापत्र जारी गरेको छ । वैठकले माघ ८ गते नयाँ संबिधान जारी गर्ने दलहरुको घोषित प्रतिबद्धता पुरा हुन नसकी दलहरुवीच झनै तिक्तता बढ्ने अबस्था सिर्जना भएकोप्रति दुःख ब्यक्त गर्दै संबिधानमार्फत् स्थायित्व कायम भई मुलुकको आर्थिक सम्बृद्धिका लागि हातेमालो गर्ने अबसरका लागि गैरआवासीय नेपाली प्रतिक्षारत रहेको जनाएको छ । बैठकमा न्यूजिल्याण्डका मन्त्री पासेता साम, सांसद फिल गोफ, अष्ट्रेलिया र न्यूजिल्याण्डका लागि नेपाली राजदुत रुद्रकुमार नेपाल, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले, संरक्षक इन्द्रा बन, उपाध्यक्ष भवन भट्ट, सचिब रन्जु थापा, आइसीसी सदस्य निरज श्रेष्ठ, सुजाता केसी, गणेश केसी, सञ्जीव शर्मा, प्रबक्ता मन के सी, एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली, एनआरएन न्यूजिल्याण्डका अध्यक्ष चक्र थापा लगायत ओसियाना क्षेत्रमा रहेका एक सयभन्दा बढी एनआरएन प्रतिनिधिहरुको सहभागिता थियो ।
बैठकले नेपालमा एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गर्ने गैरआवासीय नेपाली संघका अध्यष शेष घले एवं उहाँकी पत्नी जमुना गुरुङको घोषणाप्रति आभार प्रकट गर्दै गैरआवासीय नेपालीहरुलाई नेपालमा परोपकारी तथा सामाजिक कार्यमा लगानी बढाउन आह्वान गरेको छ । साथै वैठकले बिदेशमा आर्जन गरेको ज्ञान, शीप र पूँजीलाई स्वदेशमा लगानी गर्ने गैरआवासीय नेपालीहरुको प्रमुख उद्देश्यअनुरुप संघले सुरु गरेका सामुहिक तथा ब्यक्तिगत लगानीको अभियानमा सामेल हुन पनि आग्रह गरेको छ । वैठकले ओसियाना क्षेत्रभित्र रहेका बिभिन्न नेपाली संघसंस्थासँग सहकार्य गर्दै जाने र गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति स्थापना नभएका देशहरुमा सञ्जाल विस्तार गर्ने निर्णय गरेको एनआरएन ओसियाना क्षेत्रीय संयोजक विष्णु हमालले जानकारी दिनुभयो। यसैबीच, न्यूजील्याण्डमा एनआरएनको महिला फोरम स्थापना भएको छ।
वैठकमा बोल्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बिगत १५/२० बर्षमा बिश्वमा नेपाली समुदायको बिकाश र विस्तार निकै उत्साहजनक रहेको बताउनुभयो । सायद सर एडमण्ड हिलारी पनि यो तिब्र विस्तार देखेर छक्क पर्नुहुन्थ्यो होला अध्यक्ष घलेले भन्नुभयो वास्तवमै कसैको कल्पनाभन्दा धेरै नेपाली समुदायले बिश्व मानचित्रमा आफुलाई विस्तार गरिरहेको छ । एडमण्ड हिलारीकै कारण नेपाल र न्यूजिल्याण्डवीच जनस्तरमै बिशेष सम्बन्ध रहेको भन्दै अध्यक्ष घलेले न्यूजिल्याण्डमा नेपाली समुदायले गरेको प्रगतिप्रति सन्तोष ब्यक्त गर्नुभयो । वैठकका बिभिन्न सेसनमा गैरआवासीय नेपाली संघका मुद्दा, प्रगति विवरण र प्राथमिकतामाथि छलफल भएको थियो । कार्यक्रममा रे एभरी, मनोहर श्रेष्ठ, बाबुराजा महर्जन, रेबत बस्नेत, भरत पोखरेल, सपना हमाल लगायतले आफ्ना धारणा राख्नुभएको थियो । भिसा नपाएका कारण पपुवा न्यूगिनीका अध्यक्ष यस बैठकमा सहभागी हुन सक्नुभएको थिएन ।
यसैवीच गैरआवासीय नेपाली संघको काठमाण्डौमा बन्न लागेको केन्द्रीय कार्यालयका लागि न्यूजिल्याण्डमा १५ हजार डलर संकलन भएको छ । एनआरएन न्यूजिल्याण्डलाई ५ हजार डलरको लक्ष्य दिइएकोमा शनिवार साँझ आयोजित डिनर कार्यक्रममा १५ हजार डलर संकलन भएको एनआरएन प्रवक्ता मन केसीले जानकारी दिनुभयो। ओसिनिया क्षेत्रमा अस्ट्रेलिया, न्युजिल्याण्ड र पपुवान्युगिनीमा एन आर एनको राष्ट्रिय संयोजन समितिहरु रहेका छन् । फिजिमा एनआरएनको शाखा खोल्ने प्रक्रिया शुरु भएको छ ।