जबरजस्ती गर्न खोजेको अभियोगमा बैंकका कर्मचारी पक्राउ
डिप्रोस लघु वित्त विकास बैंक सेढवाका कर्मचारीले एक महिलालाई जबरजस्ती करणी गर्न खोज्दा गएराति पक्राउ परेका छन् । बंैकको सेढवा शाखा कार्यालयका कार्यक्रम सहायक पदमा कार्यरत बैद्यनाथ राम चमारलाई सेढवा वडा नम्बर ७ बाट गएराति स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् । राति घरभित्र प्रवेश गरी स्थानीय एक महिलालाई जबरजस्ती करणी गर्न खोज्दा घरका अभिभावकले चमारलाई पक्राउ गरी कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए । चमारलाई इलाका प्रहरी कार्यालय सेढवामा राखी अनुसन्धान सुरु गरिएको प्रहरी नायब निरीक्षक पर्मानन्द यादवले जानकारी दिनुभयो । यसैबीच प्रहरी चौकी इनर्वाले गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गर्नुका साथै एउटा मोटरसाइकलसमेत बरामद गरेको छ । एचआर ५१ यु ६६६७ नम्बर प्लेटको भारतीय मोटरसाइलकमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा चार पोका गाँजासहित भारत मोतिहारीका जुल्फकर जवान पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी चौकी इनर्वाका प्रहरी नायब निरीक्षक रमेश रेग्मीले जानकारी दिनुभयो ।