सन्तोष साह जब ‘मास्टर सेफ युके’मा नेपाली खाना पस्कन थाले…!
नेपालीहरु विश्वभर छरिएर रहेका छन् । नेपाल र नेपाल बाहिरको नेपाल एकअर्कालाई सदैव गर्व गरिरहन्छ अनि सदैव प्रेरणाको श्रोत बनिरहन्छ । पछिल्लो समय युकेको माष्टर सेफ सिरिजनमा सहभागिता जनाएका सन्तोष साह यतिबेला चर्चामा छन् ।
हालसम्म ६ वटा रेष्टुरेन्ट र एउटा तारे होटलमा काम गरेको अनुभव समेटेका सन्तोष लन्डनको सिनामन किचेनमा हेड सेफको रुपमा कार्यरत छन् । माष्टर सेफ युके २०२० च्यालेन्जमा प्रतिस्पर्धीका रुपमा सहभागी सन्तोष ३२ जनामध्ये एक हुन् । गएको मंगलबारबाट वीवीसीमा प्रशारित माष्टर सेफमा पहिलो चरणमा उनको प्रतिस्पर्धा भइसकेको छ । उनको एपिसोड भने प्रशारित हुन बाँकी छ । उनले दोश्रो चरणमा पुग्ने अपेक्षा व्यक्त गरेका छन् । उनी भन्छन्, म यहाँ नेपाली खाना प्रबद्र्धन गर्न आएको हो । उपाधि जित्नु नजित्नुसँग मलाई खासै मतलब छैन । तर, पनि म शतप्रतिशत दिनेछु ।
उनी प्रतियोगितामा सहभागी हुनुअघि सेफ स्पोटलाईटसँगको एक अन्तर्वार्तामा नेपाली खानाको स्तरीय रेष्टुरेन्ट युकेमा खोल्ने उद्देश्य रहेको बताउँछन् । प्रस्तोताले नेपाली र भारतीय खानामा के फरक छ ? भन्ने प्रश्नमा उनले भनेका छन् धेरै फरक छ । एकदमै अथेन्टिक खाना नेपाली हो । तर, यसबारे धेरैलाई थाहा छैन । यसैकारण म नेपाली खाना पस्किन चाहन्छु ।
सन्तोष नेपाली खानाका बारेमा पर्याप्त अनुसन्धान गरिसकेको र यसलाई विश्व बजारमा लैजान आफु प्रतिबद्ध रहेको बताउँछन् ।