अष्ट्रेलियामा संयुक्त संघीय गणतान्त्रिक मोर्चा गठनको औचित्य प्रष्ट्याउँदै चार संगठन (राजदूतलाई बुझाएको ज्ञापनसहित)


FINAL Photo Andolanअष्ट्रेलियामा भर्खरै गठन भएको संयुक्त संघीय गणतान्त्रिक मोर्चाले आफ्नो गठनको उद्देश्य र अहिलेसम्म गरेका क्रियाकलाप प्रष्ट्याउन पत्रकार सम्मेलनको आयोजना गरेको छ । आइतबार सिड्नीको ६६ प्रिन्सेस स्ट्रिट, क्यान्टोबरीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मोर्चाले अहिलेसम्मको गतिविधिका विषयमा पनि जानकारी गराएको छ । पत्रकार सम्मेलनमा मोर्चाका संयोजक एवं नेपाली संघीय समाज अष्ट्रेलियाका संयोजक गणेश तामांगले नेपालमा भइरहेको संविधान निर्माणमा देखिएको अवरोधलाई हटाउनका निम्ति ३० दलीय मोर्चा गठन भएजस्तै अष्ट्रेलियामा पनि पहिचान पक्षधरहरु एकै ठाउँमा आउन मोर्चा गठन गरिएको बताउनुभयो । गत साता सविधानसभाध्यक्ष सुवास नेम्वांगको पुत्ला जलाएपछि अष्ट्रेलियामा आएर पनि यस्तो काम गरेको भनी लागेको आरोपको प्रतिवाद गर्दै तामांगले नेपालमा भएका सबैखाले परिवर्तनमा देश बाहिर रहेका नेपालीहरुले सहयोग गरेको बताउनुभयो । अष्ट्रेलियामा पुगें भन्दैमा देशको चिन्ता नगर्ने हो भने ‘दोहोरो नागरिकता भन्दै फलाक्नु’को औचित्य नहुने पनि तामांगको तर्क छ । यसैगरी नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाका अध्यक्ष चित्रबहादुर तुम्बाहाम्फेले सम्झौताहीन आन्दोलन गरे मात्रै सफल हुने भन्दै यसका लागि खुट्टा नकमाउन नेतृत्वलाई सुझाव दिनुभयो । आफ्नो अधिकार माग्दा कसले के भन्छ यसको वास्ता नगर्ने भन्दै तुम्बाहाम्फेले यस अभियानका विषयमा रहेका भ्रमहरु हटाउन पनि पत्रकार सम्मेलन गरिएको बताउनुभयो । यस्तै नेपाली जनप्रगतिशील मञ्चका महासचिव हिमलाल गैरेले संविधानसभाध्यक्षको पुत्ला दहन लगत्तै स्वतस्फुर्त रुपमा मोर्चा गठनको प्रस्ताव आएको र मोर्चाको तर्फबाट क्यानबेरामा पुगी राजदूत मार्फत संविधानसभाध्यक्षलाई ध्यानाकर्षण गराइएको पनि जानकारी दिनुभयो । संविधानसभाध्यक्षले अघिल्लो संविधानसभामा बहुमत सदस्यले हस्ताक्षर गरेर बैठक बोलाउन आह्वान गर्दा सहमतिविना अघि बढ्न संविधानले नदिने बताउँदै बैठक नबोलाएको तर, यस पटक सहमति नजिक पुगेको बेलामा पनि प्रक्रियामा प्रवेश गराएको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । “यसैकारण हामीले पुत्ला जलाउनु परेको हो ” गैरेको भनाई थियो । पत्रकारहरुको जिज्ञासाको उत्तर दिँदै गैरेले नेपालमा आन्दोलन जसरी अघि बढ्छ त्यसरी नै आपूmहरु पनि अघि बढ्ने बताउनुभयो । पुत्ला जलाएको विषयमा सामाजिक सञ्जालमा व्यापक विरोध आएको विषयमा गरिएको मोर्चाका संयोजक गणेश तामांगले देशमा सहमति बन्यो भने हामी अष्ट्रेलियामा दिपावली पनि गर्छौं तर, हाम्रो भावना समेटिएन भने त्यस्तो संविधान जलाउने कार्यक्रम पनि हामी नै गर्छौं । यस्तै संघीय लिम्बुवान समाज अष्ट्रेलियाका अध्यक्ष मनुराज निम्लेकुले पहिचानमा आधारित संविधानका लागि मोर्चामा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
यस्तो छ राजदूतमार्फत पठाइएको ज्ञापन पत्र
विषय ः ज्ञापन पत्र
सम्माननीय अध्यक्षज्यू,
संविधानसभाको कार्यालय
बानेश्वर, काठमाडौं नेपाल ।
मार्फत ः महामहिम राजदूतज्यू,
नेपाली राजदूतावासको कार्यालय
क्यानबेरा, अष्ट्रेलिया ।
अध्यक्ष महोदय,
दशकौं लामो संघर्षबाट स्थापित संविधानसभाले देशको बहुआयामिक संकटको हल गर्न उत्पीडित वर्ग, महिला, जनजाति, मधेशी लगायत सीमान्तकृत समूदायको हक, अधिकार र पहिचानलाई सुनिश्चित गर्दै संघीय लोकतान्त्रिक संविधान निर्माण गर्ने जनादेश र अपेक्षा विपरित अहिले देखिएको पथविचलन र गतिरोधप्रति अष्ट्रेलियावासी नेपाली समूदायको गम्भीर ध्यानाकर्षण भएको छ । सत्तारुढ गठबन्धनको कथित बहुमतीय अहंकारले जनयुद्ध र जनआन्दोलनको भावना, १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता, मधेश र आदिवासी जनजाति आन्दोलनबाट भएको सहमति विपरित दोश्रो संविधानसभाको निर्वाचनको बेला आफैंले गरेको प्रतिबद्धता बहुपहिचान र समावेशिता विपरित दशौं हजारको बलिदानबाट प्राप्त संविधानसभालाई गत माघ ११ गते संविधानसभाका अध्यक्षमार्फत अपहरण गरेपछि उत्पन्न भएको राजनीतिक अश्चिततालाई तत्काल अन्त्य गर्न सम्माननीय अध्यक्षज्यूबाट प्रश्नावली प्रस्ताव निर्माण प्रक्रिया खारेज गरी जनआन्दोलनका पक्षधर दलहरुको सहमतिमा नेपालका नयाँ संविधान बनाउने मार्ग प्रशस्त गर्न माग गर्दछौं ।
बोधार्थ, सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमाडौं ।
संसदीय दलको नेताज्यू,
प्रमुख प्रतिपक्षी दलको कार्यालय, सिंहदरबार, काठमाडौं ।

DSC_0474 copy

भवदीय
गणेश तामांग, अध्यक्ष नेपाल संघीय समाज अष्ट्रेलिया (संयोजक)
हिमलाल गैरे, महासचिव, नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलिया
चित्रबहादुर तुम्बाहाम्फे, अध्यक्ष नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलिया
मनुराज निम्लेकु, अध्यक्ष, संघीय लिम्बुवान समाज, अष्ट्रेलिया
मिति, ३ फेब्रुअरी, २०१५ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?