नागरिक समाजका अगुवाहरु ताते, प्रचण्ड, ओली र प्रधानमन्त्रीसँग भेट, तीनैजनालाई गराए कुराकानी
सहमतिमा नै संविधान जारी गर्नुपर्ने माग गर्दै प्रमुख दललाई सार्थक संवाद सुरु गर्न नागरिक समाजका अगुवाले पहल गर्नुभएको छ । समाजका प्रतिनिधिले एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग उहाँकै निवास लाजिम्पाटमा भेटी वार्ता र संवाद सुरु गर्न आग्रह गर्नुभएको हो । दलको सहमतिमा विगतका विभिन्न सम्झौता र सहमतिको भावनाअनुसार नै संविधान जारी हुनुपर्नेमा जोड दिँदै समाजका अगुवाले दलबीच द्वन्द्व बढ्नु मुलुक र जनताको हितमा समेत नभएको अध्यक्ष दाहाललाई ध्यानाकर्षण गराउनुभएको थियो । यही माघ ११ गते संविधानसभाको बैठकले संविधान निर्माणमा देखिएका विवादित विषयमा प्रस्ताव समिति गठन गरेपछि सत्तारुढ र प्रतिपक्षी दलबीच विश्वासको सङ्कट बढ्दै गएको छ । प्रक्रियाका आधारमा नै संविधान लेखन प्रक्रियालाई अगाडि बढाउने तयारी गरेका सत्तारुढ दल र सहमतिका आधारमा नै अगाडि बढ्नुपर्छ भन्ने प्रतिपक्षी दलका बीचमा सहमति हुन नसक्दा राजनीतिक अन्योल बढ्दै गएको भन्दै समाजका अगुवाले विवाद घटाउन आग्रह गर्नुभएको हो । शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतले संविधान निर्माण प्रक्रियालाई सहमतिमा नै अगाडि बढाउने दायित्व एमाओवादीको भएको र सत्तापक्षले पनि दुई तिहाइको दम्भ देखाएर प्रतिपक्षलाई पेल्न नहुनेमा उहाँहरूले जोड दिनुभएको थियो ।
अगुवाकै अगाडि प्रम र ओलीसँग टेलिफोन
एमाओवादीका अध्यक्ष दाहालले नागरिक समाजका अगुवाकै अगाडि प्रधानमन्त्री सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन वार्ता गर्नुभएको समाजका अगुवा डा सुन्दरमणि दीक्षितले जानकारी दिनुभयो । ‘‘एमाओवादी अध्यक्ष दाहालले प्रस्ताव समिति खारेज गरी सहमतिका आधारमा संविधान निर्माण गर्ने वातावरण बनाउन प्रधानमन्त्री र एमाले अध्यक्षसँग आग्रह गर्नुभयो, हामीले पनि तत्काल वार्ता सुरु गर्न ध्यानाकर्षण गरायौँ”, डा दीक्षितले भन्नुभयो । टेलिफोनमा नेता ओलीले आफूहरूबीच छिट्टै संवादको प्रक्रिया सुरु गर्ने जवाफ अध्यक्ष दाहाललाई दिएको बताइएको छ । नेता दाहाललाई भेट्न डा दीक्षित, प्रा डा वीरेन्द्रप्रसाद मिश्र, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, चरण प्रसार्इंलगायत लाजिम्पाट पुग्नुभएको थियो ।
यसपछि अगुवाहरु प्रधानमन्त्री भेटन पुगे प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान जारी गर्नका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताउनुभयो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नागरिक समाजका अगुवासँग उहाँले राजनीतिक दलबीच सहमतिका लागि संवादको वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले वार्ता र संवाद नभइरहेको अवस्थामा त्यसका लागि वातावरण बनाउन आफूहरूले आग्रह गरेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्रीले नयाँ संविधानका निर्माणका लागि आफूले जुनसुकै त्याग गर्ने र संवादहीनताको अवस्था चाँडै तोडिने विश्वास दिलाएको पोखरेलले जानकारी दिनुभयो । उहाँले वार्ता नै अहिलेको उत्तम विकल्प भएकाले सबै मुख्य राजनीतिक दलसँग आफूहरूले वार्तामा बस्न आग्रह गरेको बताउनुभयो ।