काँग्रेस र एमालेले राजनीतिक बेइमानी गरेको प्रचण्डको आरोप, कार्यकर्तालाई आन्दोलनमा जुट्न आग्रह
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा (एमाले)ले राजनीतिक बेइमानी गरेको आरोप लगाउँदै आफ्ना नेता तथा कार्यकर्तालाई आन्दोलनमा जुट्न निर्देशन दिनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित बिसौँं जनयुद्ध दिवसलाई सम्बोधन गर्दै उहाँले जनतालाई अधिकारसम्पन्न बनाउने उद्देश्यका साथ आफ्नो पार्टीले बाह्रबुँदे सहमति गरेको र सोही आधारमा अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौतासमेत भएको भए पनि संविधानसभाको दोस्रो निर्वाचनपछि सत्तारूढ दलले विगतमा सहमति भुलेको आरोप लगाउनुभयो । जनतालाई अधिकार नदिने खेल भइरहेको भन्दै उहाँले एमाओवादी र ३० दलीय मोर्चाले सुरु गरेको आन्दोलनले परिवर्तन विरोधी शक्तिलाई पाखा लगाउने दाबी गर्नुभयो । अध्यक्ष दाहालले पार्टीको शीर्ष नेतृत्व बिग्रिए पनि माओवादी आन्दोलन समाप्त नहुने र जनताले नहार्ने बताउनु भयो । कार्यक्रममा एमाओवादीका स्थायी समिति सदस्य नन्दबहादुर पुनले जनताले अधिकार प्राप्त नगरे शान्तिपूर्ण आन्दोलनमा जानबाट आफ्नो पार्टीलाई कोही कसैले रोक्न नसक्ने बताउनुभयो । सो अवसरमा बेपत्ता परिवारका तर्फबाट सभासद् रुपा महर्जन, घाइते अपाङ्गका तर्फबाट सुनिता रेग्मी र पार्टी सल्लाहकारका तर्फबाट सभासद् राममाया बोगटीले पार्टीले जनताको भावनाअनुसार काम गर्न नसकेको, सहिद, बेपत्ता तथा घाइते परिवारलाई भुलेको र जुन वर्गबाट माओवादी पार्टी बनेको हो त्यसलाई भुलेको भन्दै पार्टी नेतृत्वको आलोचना गर्नुभएको थियो ।