विश्वकप क्रिकेटमा अष्ट्रेलियाको सुखद सुरुवात, इङल्याण्डविरूद्ध शानदार जीत


australiaविश्वकप क्रिकेट २०१५ को दोस्रो खेलमा अष्ट्रेलियाले इङल्याण्डविरूद्ध शानदार जीत हासिल गरेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा अष्ट्रेलियाले इङल्याण्डलाई १ सय ११ रनले पराजित गरेको हो । ३ सय ४३ रनको विजय लक्ष्य पछ्याएको इङल्याण्ड मात्र ४१ ओभर ५ बलमा आफ्ना सबै विकेट गुमाउँदै २ सय ३१ रन मात्र जोड्न सफल भएपछि १ सय ११ रनले पराजित भएको हो । इङल्याण्डका लागि जेम्स टेलरले सर्वाधिक रन बनाउने क्रममा अविजित ९८ रन जोडेका थिए । उसका लागि क्रिग्स ओक्सले ३७ रन, इयान बेलले ३६ रन जोडेका थिए भने अन्य ब्याटस्म्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । इङल्याण्डलाई पराजित गर्नका लागि मिचेल मार्सले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए । यस्तै, मिचेल जोनसन र मिचेल स्टार्कले समान २(२ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा आफ्ना ९ विकेट गुमाउँदै ३ सय ४२ रन जोडेको थियो । उसका लागि प्रारम्भिक ब्याटस्म्यान आरोन फिन्चले विश्वकपको पहिलो शतक प्रहार गर्दै विस्फोटक १ सय ३५ रन जोडेका थिए । यस्तै, ग्लेन म्याकवेलले आक्रामक ब्याटिङ गर्दै ६६ रन, जर्ज बेलीले ५५ रन, ब्राड हाडिनले विस्फोटक ३१ रन, मिचेल मार्सले २३ रन र डेभिड वार्नरले २२ रन जोडेका थिए । यता इङ्ल्याण्डका स्टेभन फिनले ह्याट्रिकसहित ५ विकेट लिएका थिए । फिनले अन्तिम ओभरको अन्तिम ३ बलमा ह्याट्रिक लिएका थिए । यस्तै, स्टुवार्ट बोर्डले २ विकेट र क्रिस वोक्सले १ विकेट लिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?