२० गैंडा मार्ने अपराधी पक्राउ, १५ वर्ष कैद फैसलाका फरार राजकुमार प्रजा नियन्त्रणमा
चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करीको अभियोगमा फरार रहेका चितवनका एक व्यक्तिलाई पक्राउपछि सार्वजनिक गरेको छ । निकुञ्जले आज पत्रकार सम्मेलन गरी चितवन कोराकका ३१ वर्षीय राजकुमार प्रजालाई सार्वजनिक गरेको हो । पत्रकारसँग प्रजाले आफैँले २० वटा गैँडा मारेर खाग बेचेको, दुईवटा अरूले नै मारेको गैँडाको खाग बेचेको र पाँचवटा गैँडालाई मार्ने प्रयास गरी घाइते बनाएको स्वीकार गरेका छन् । निकुञ्जका अनुसार विभिन्न १५ वटा मुद्दा लागेपनि उनी २०६० सालदेखि फरार भएका थिए । आरोपी प्रजा मुलुक बाहिर गएको थाहा पाएपछि ‘रेडकर्नर नोटिस’ जारी गरी पक्राउका लागि अन्तर्राष्ट्रियस्तरमा पहल गरिएको थियो । उनीविरुद्धका छवटा मुद्दाको फैसलासमेत भएको र हरेक मुद्दामा १५ वर्ष कैद र रु एक लाख जरिवानासमेत तोकिएको छ । खोजतलासका क्रममा अघिल्लो महिना मलेसियामा काम गर्दै गर्दा उनलाई पक्राउ गरी माघ गत २६ गते निकुञ्ज ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले बताउनुभयो । प्रजा नक्कली नागरिकता बनाई राहदानी निकालेर मलेसियामा बस्दै आएको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ । उनले गोरखाबाट भक्तराज गिरीको नाममा नक्कली नागरिकता लिई राहदानी बनाएको पाइएको व्युरोका प्रहरी नायब उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । पत्रकार सम्मेलनका क्रममा निकुञ्ज विभागका महानिर्देशक टीकाराम अधिकारीले प्रजा पक्राउ परेसँगै निकुञ्जलाई महत्वपूर्ण सफलता मिलेको बताउनुभयो ।