मनोनयन र कार्यविभाजनको निर्णयमा टुंगो लाग्न नसकेपछि एमालेको केन्द्रीय कमिटी बैठक स्थगित
केन्द्रीय कमिटीमा मनोनयन र कार्यविभाजनको निर्णय गर्न आज बस्ने भनिएको नेकपा (एमाले) को स्थायी कमिटीको बैठक स्थगन भएको छ । शीर्ष नेताको व्यस्तताका कारण आन्तरिक तयारीका लागि छलफल अपुग भएकाले बैठक स्थगित भएको एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । पार्टीका नेता माधवकुमार नेपाल रौतहटमा रहनुभएकाले पनि बैठक बस्न नसकेको उहाँले बताउनुभयो । स्थायी कमिटीको बैठक यही फागुन १० गते बस्नेछ । यसअघि यही फागुन ४ गतेको स्थायी कमिटीको बैठकले ती विषयलाई अन्तिम रूप दिन पार्टीका शीर्षनेतालाई जिम्मा दिएकोमा मङ्गलबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शीर्षनेता सम्मिलित कार्यदलको छलफल भएपनि सहमति हुन सकेको थिएन । सोमबारको बैठकमा केन्द्रीय कमिटीमा मनोनयनका लागि महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत मापदण्ड र नामावलीमाथि विभिन्न प्राप्त सुझाव र नामावलीको सूचीभित्रबाट वरिष्ठता, योग्यता–क्षमता, समावेशिता, क्षेत्रीय सन्तुलन र दलको कामको आवश्यकताका आधारमा मनोनयन गरिने जनाइएको थियो । सो सूचीलाई अन्तिम रूप दिन अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव पोखरेललाई जिम्मा दिइएको थियो । एमालेको विधानमा केन्द्रीय कमिटीमा १० प्रतिशतसम्म मनोनयन गर्न सकिने व्यवस्था छ । यस्तै, केन्द्रीय सदस्यको कार्यविभाजनसम्बन्धी प्रस्ताव तयार गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी तोकिएपनि हालसम्म जिम्मेवारी दिइएको छैन । एमालेमा गत असारमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनयन र कार्यविभाजन हुन बाँकी छ ।