पोखरामा राष्ट्रिय पुरुष भलिबल तथा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु
पश्चिमाञ्चल भलिबल सङ्घको आयोजनामा पोखरा रङ्गशालामा २९औँ राष्ट्रिय पुरुष तथा चौथो अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भयो । राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र त्रिभुवन विश्वविद्यालयको समेत गरी नौ टोलीको सहभागिता रहेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, न्यू डाइमिक एकेडेमी, पश्चिमाञ्चल विकास क्षेत्र र भारतको उत्तर प्रदेश गरी छ टोलीको सहभागिता छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब रु २८ लाख खर्च लाग्ने बताइएको छ । प्रतियोगिता यही फागुन १३ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घका कावा अध्यक्ष एवम् क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालाले गर्नुभएको थियो ।