वार्ताका लागि आन्दोलनकारीका तीन सर्त, प्रतिबद्धता माग
मधेसी जनअधिकार फोरम, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वार्ताका लागि तीनवटा सर्त अघि सार्नुभएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारले आह्वान गरेको वार्ताका लागि तीनवटा सर्त अघि सार्नुभएको हो । पहिले गरिएको सम्झौताका आधारमा संविधान बन्ने प्रतिबद्धता आउनुपर्ने, माघ ११ गते सभामुखले चालेको कदम फिर्ता लिनुपर्ने र सहमतिका आधारमा संविधान बनाउने प्रतिबद्धता आउनुपर्ने उहाँको भनाइ थियो । विगतमा गरिएका सहमति तथा सम्झौता कार्यान्वयन नगर्नु भनेको विश्वासघात र धोका हो भन्दै उहाँले वार्ताका लागि विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिनुभयो । आन्दोलनलाई तुहाउन सत्ताधारी दलहरूले वार्ताका नाममा जाल फ््याँकेको उहाँको आरोप थियो । अध्यक्ष यादवले आन्दोलनकारी शक्तिलाई अलग राखेर संविधान बन्न नसक्ने दावी पनि गर्नुभयो । सो पत्रकार सम्मेलनमा बोल्दै फोरम, नेपालका केन्द्रीय कोषाध्यक्ष रेणूकुमारी यादवले उत्पीडनमा परेका मधेसी जनताले अधिकार नपाएसम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभयो ।