सत्तारुढ दलका शीर्ष नेताको प्रवृत्तिले देशमा अशान्ति आएको भट्टराईको दाबी
एमाओवादीका नेता डा बाबुराम भट्टराईले सत्तारुढ दलका शीर्ष नेताहरूको प्रवृत्तिका कारण देशमा द्वन्द्व निम्तने खतरा रहेको बताउनुभएको छ । नवलपरासीको डण्डामा क्रान्तिकारी पत्रकार सङ्घले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले ती नेताहरू शान्ति प्रक्रियाका विरोधी रहेको आरोप लगाउनुभयो । परिवर्तनको एजेन्डालाई संस्थागत गर्नभन्दा पनि घुमाउरो पारामा २०४७ को संविधान ब्युँताउने उहाँहरूको नियत देखिएकाले आन्दोलनको विकल्प नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – “फागुन १६ को आन्दोलनपछि मात्रै नयाँ तरङ्ग आउँछ अनि नयाँ चिज बन्छ ।” नेता भट्टराईले भन्नुभयो – सहरका जनताले आन्दोलन बिर्सेका छन् तर जातीय, क्षेत्रीय, उत्पीडित वर्ग शान्तिपूर्ण आन्दोलनको पक्षमै छन् । तीस दलीय गठबन्धन तोड्न सत्तारुढ दलहरूले पुरानै शैली अपनाएको आरोप लगाउँदै उहाँले भन्नुभयो – हामी वार्तामा बर्सेरै समाधान निकाल्छौँ ।