बारा सिमराको समस्या शान्तिपूर्ण समाधान गर्न एमाओवादी आग्रह


dinanathएकीकृत नेकपा (माओवादी)ले हरेक निर्वाचन क्षेत्रमा व्यावहारिक र वैज्ञानिक रूपमा एक सेवा केन्द्र बनाई लागू गर्न आग्रह गर्दै केही दिनदेखि बाराको सिमरा र आसपासका क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनको उचित सम्बोधन गर्न सरकारसँग माग गरेको छ । जिल्ला मालपोत कार्यालय र नापी कार्यालयको विषयलाई लिएर स्थानीयवासीले जारी राखेको प्रदर्शनलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्नुको साटो सुरक्षा निकायले बल प्रयोग गरेको भन्दै सो पार्टीले आपत्ति प्रकट गरेको छ ।  जनताका घरघरमा पसेर आक्रमण गर्ने र सञ्चारमाध्यममा पसेर सञ्चार उपकरण तोडफोड गर्नेसम्मको कार्यप्रति आपत्ति प्रकट गर्दै एमाओवादीले सरकारको अदूरदर्शी, अपरिपक्व र असन्तुलित निर्णय तत्काल सच्याउन ध्यानाकर्षण गराएको छ । एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले आज एक विज्ञप्ति प्रकाशित गरी प्रशासनिक निकायको सेवा जनतालाई हुनुपर्छ भन्ने पक्षमा पार्टी रहेको उल्लेख गर्नुभएको छ । विगत ९ दिनदेखिको स्थानीयको आन्दोलनमा आझ्नो पार्टीको समर्थन रहेको जनाउँदै उहाँले प्रशासनलाई विवेकका साथ काम गर्न आग्रह पनि गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?