बयानका लागि नगएपछि बङ्गलादेशकी विपक्षी नेत्रीलाई पक्राउ आदेश


khalidaबङ्गलादेशकी विपक्षी दलकी नेत्रीलाई पक्राउ आदेश जारी गरिएको छ । बङ्गलादेशकी विपक्षी नेत्री खालिदा जियालाई राजधानी ढाकास्थित विशेष अदालतले सो आदेश जारी गरेको हो । उहाँलाई यसअघिदेखि नै भ्रष्टाचारको आरोपमा मुद्दा चलाइएको छ तर अदालतको आदेशबमोजिम उहाँ बयानका लागि उपस्थित नभएपछि पछिल्लोपटक यो पक्राउ आदेश जारी गरिएको बुधबार प्राप्त समाचारमा जनाइएको छ । बङ्गलादेशको राजधानी ढाकामा रहेको भ्रष्टाचार विरोधी विशेष अदालतले विपक्षी नेत्री खालिदा जियालाई बयानका लागि गतहप्ता बोलाएकामा उहाँ अदालत उपस्थित हुनुभएको थिएन । सोही कारण उहाँलाई पक्राउ आदेश जारी गरिएको बताइएको छ । भ्रष्टाचार विरोधी एक विशेष अदालतका न्यायाधीश अबु अहमदले उक्त आदेश जारी गर्नुभएको बुधबार राजधानी ढाकाबाट प्राप्त समाचारमा जनाइएको छ । बङ्गलादेशमा विगतका महिनादेखि राजनीतिक सङ्कट गहिरिएको छ । विपक्षी दलले आह्वान गरेबमोजिम आन्दोलन जारी रहेको छ । यो पक्राउ आदेशले थप राजनीतिक सङ्कट गहिरिने अनुमान गरिएको समाचारमा जनाइएको छ । उहाँलाई यसअघि पनि घरैमा नजरबन्द गरी राखिएको थियो । उहाँका वकिल सनउल्लाह मियाले यसको विरोध गर्नुभएको छ । उहाँले एकातर्फ सरकारले घरैमा नजरबन्दमा राख्ने र अर्कातर्फ अदालतले उपस्थित नभएको आरोपमा पक्राउ पुर्जी जारी गर्ने गरेकाले अन्याय भएको प्रतिक्रिया दिनुभएको छ । उक्त निर्णयको विरोध गर्दै अदालत बाहिर रहेका संवाददातासँग मियाले भन्नुभयो, “हाम्रो देशमा न्याय छैन भन्ने कुराको प्रत्यक्ष उदाहरण हो यो ।” उहाँ बङ्गलादेशमा प्रधानमन्त्री रहेको समय सन् २००१ देखि २००६ मा उहाँले भ्रष्टाचार गरेको र करिब साढे छ लाख अमेरिकी डलरबराबरको भ्रष्टाचारमा उहाँको हात रहेको आरोप लगाइएको छ । यदि यो आरोप प्रमाणित भएमा उहाँलाई जन्म कैदको सजाय पनि हुनसक्ने अनुमान गरिएको छ । तर सो मुद्दाप्रति उहाँले असहमति व्यक्त गर्दै आउनुभएको छ । वर्तमान सरकारका विरुद्धमा उहाँको सरकार आन्दोलनमा छ । गत जनवरी महिनाको पहिलो हप्तादेखि नै त्यहाँ आन्दोलन सुरु भएको हो । विपक्षी दलहरूले आमहड्ताल गर्दै आएका छन् । उहाँलाई पनि सोही मितिदेखि नै आफ्नै घरमा नजरबन्दमा राखिएको छ । जारी आन्दोलनका कारण त्यहाँको जनजीवत अस्तव्यस्त भइरहेको छ भने सो आन्दोलनबाट १०० जनाभन्दा बढीको ज्यान पनि गएको छ । उहाँ हाल बङ्गलादेश नेसनल पार्टीको अध्यक्ष पनि हुनुहुन्छ । सो दलले गत वर्ष भएको आम निर्वाचनमा सहभागिता जनाएको थिएन । त्यसैले वर्तमान सरकारको वैधानिकता नरहेको भन्दै अर्काे निर्वाचनको माग गरी आन्दोलन गरिएको हो । पूर्व प्रधानमन्त्री जिया ६९ वर्षको हुनुहुन्छ । उहाँले यस मुद्दामा सरकारले आफूप्रति राजनीतिक रूपमा प्रतिशोध साधेको बताउँदै आउनुभएको छ । आफ्नो दल र आपूmलाई बङ्गलादेशमा सिध्याउनका लागि सरकारले यो षड्यन्त्र रचेको उहाँले बताउनुभएको छ । उहाँले आपूmमाथिको आरोप झुठ भएकाले आपूm अदालत नजाने बताउँदै आउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?