ईराकको टिर्किट क्षेत्रमा सर्वसाधारणको विचल्ली, दुईपक्षीय चेपुवामा परेको गुनासो
इराकको टिक्रिट क्षेत्रबाट सर्वसाधारण नागरिक भाग्न थालेका छन् । हालैका दिनमा त्यहाँपनि इस्लामिक स्टेटको आक्रमण बढेपछि त्यहाँबाट सर्वसाधारण नागरिक भाग्न थालेका हुन् । पछिल्लो समयमा त्यहाँबाट करिब दुई हजार ८०० व्यक्ति भागेका वा विस्थापित भएको बताइएको छ । सो सहर पुनः कब्जाको लागि इराकी सुरक्षाबल र इस्लामिक स्टेट जिहादी समूहबीच भएको भीषण झडपपछि ती व्यक्तिहरु त्यहाँबाट भागेका जनाइएको छ । आइएस लडाकूको कब्जामा रहेको सो सहर फर्काउन गरेको सैनिक कारबाहीमा करिब दुई हजार ८०० व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसङ्घद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । इराकमा जारी द्वन्द्वको कारण यसअघि नै २५ लाख व्यक्तिले आफ्नो घर छोडी भागेका बसाइसरार्इँ सम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको छ । इराकको टिक्रिट सहरमा करिब ३० हजार इराकी बलले जेट र हेलिकप्टरबाट इस्लामिक स्टेट (आइएस) जिहादीहरू विरुद्ध गत सोमबारदेखि कारबाही सुरु गरेका थिए । ती क्षेत्रहरुमा आइएस लडाकू समूहले गत जुनदेखि नै कब्जामा लिएका थिए । टिक्रिट पूर्व राष्ट्रपति सद्दाम हुसेनको गृहनगर हो । आइएस लडाकूको बलियो प्रभाव रहेको किर्कुकलगायतका सहर पुनः कब्जाका लागि इराकी सुरक्षाबलले सो कारबाही सुरु गरेको बताइएको छ । सुरक्षाबलले टिक्रिट, आद्–दावर र अल–आलाम कारबाही सुरु गरेको एएफपी समाचार समितिलाई बताएको छ । कारबाहीका क्रममा सैनिक, प्रहरी, आतङ्कवाद विरुद्धका इकाई र सरकारको नियन्त्रणमा रहेका स्वयम्सेवीहरूको सहभागिता रहेको जनाइएको छ ।