रसियासँगको बढ्दो तनाव, युरोपको छुट्टै सेना बनाउने नयाँ प्रस्ताव


hgabdaरसियासँग तनाब बढिरहेको समयमा युरोपेली आयोगका प्रमुख जँ क्लड जङ्करले आइतबार युरोपेली युनियनको सेना स्थापना गर्न आह्वान गर्नुभएको छ । जर्मनीको वेल्ट एम सोनटाग समाचारपत्रलाई दिनुभएको एक अन्तर्वार्तामा जङ्करले युरोपेली युनियनको सीमा बाहिरबाट आउने नयाँ चुनौतीको सामना गर्न तथा युरोपेली मूल्यको प्रतिरक्षा गर्न यस्तो सेनाले सहयोग गर्नसक्ने बताउनुभयो । उहाँले तत्कालै प्रयोग गर्न युरोपेली सेनाको सिर्जना गर्न नसकिने बताउनुभयो । उहाँले युरोपेली मुलुकबीच सामूहिक सेनाले उनीहरू युरोपेली युनियनको मूल्यको प्रतिरक्षा गर्ने कुरामा गम्भीर भएको सन्देश रसियालाई दिने बताउनुभयो । उहाँले युरोपेली युनियनको संयुक्त सेनाले सैनिक उपकरणमा खर्चलाई बढी प्रभावकारी बनाउने तथा यस समूहको २८ सदस्य मुलुकलाई थप एकीकृत गर्न सहयोग गर्ने बताउनुभयो । जङ्कर लग्जम्बर्गका पूर्व प्रधानमन्त्री हुनुहुन्छ । उहाँले यस्तो सेनाले युरोपेली युनियनको सामूहिक विदेश तथा सुरक्षा नीति तयार गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले यस्तो सेनाले नेटोको प्रतिरक्षाको भूमिकालाई भने चुनौती दिन नहुनेमा पनि जोड दिनुभयो । उहाँले युरोपको छवि नाटकीय रूपमा प्रभवित भएको र यस्तो कुरा विदेश नीतिका सन्दर्भमा पनि भएको बताउनुभयो । उहाँले यस विषयलाई सम्पूर्ण रूपमा गम्भीर भएर आफूहरूले लिएको नदेखिएको पनि उल्लेख गर्नुभयो । यस प्रस्तावप्रति युरोपेली युनियनको गहन एकीकरणको विरोध गर्ने बेलायतजस्तो मुलुकबाट क्रुद्ध प्रतिक्रिया आउने देखिन्छ । यसो भए पनि यसप्रति जमर्नीको केही समर्थन रहेको देखिएको छ । जर्मन प्रतिरक्षामन्त्री अर्सुला भन डर लेयनले गत महिना आफ्नो छोराछोरीले नभए पनि आफ्ना नातिनातिनीले संयुक्त राज्य युरोप देख्नसक्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले संयुक्त राज्य युरोपको आफ्नै सेना हुने उल्लेख गर्नुभयो भनी डीपीए समाचार संस्थाले उल्लेख गरेको छ । जर्मन संसदका विदेश नीतिसम्बन्धी समितिका प्रमुख नोरबर्ट रोटजेनले युरोपेली युनियनको सेना युरोपेली दृष्टिकोण भएको र त्यसको समय आएको बताउनुभयो भनी वेल्ट आम सोनटागले उल्लेख गरेको छ ।  \

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?