नौसय चौँतिस किलोग्राम रक्तचन्दन बेवारिसे अवस्थामा
जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोक परिसरमा लामो समयदेखि रु चार करोडबराबरको ९३४ किलो प्रतिबन्धित रक्तचन्दन बेवारिसे अवस्थामा रहेको छ । फरक–फरक मितिमा प्रहरीले बरामद गरेर बुझाएको रक्तचन्दनसहित दुई वटा सवारी साधन पनि बेवारिसे अवस्थामा रहेका छन् । तर जिल्ला वन कार्यालय धुलिखेलले बरामद गरेको रक्तचन्दन र अन्य वस्तु सुरक्षित अवस्थामा राखिएको जिकिर गरेको छ । जिल्ला वन अधिकृत गणेश रायले अवैध रक्तचन्दन ओसारपसारसम्बन्धी मुद्दा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा चलिरहेको र फैसला हुनेवित्तिकै सम्बन्धितलाई फिर्ता गर्ने सरकारको निर्णय भएको बताउनुभयो । उहाँले बरामद भएका वन पैदावर र रक्तचन्दन सुरक्षित रूपमा राखिएको बताउनुभयो । बरामद भएका अवैध काठ लिलाम भएको उल्लेख गर्दै उहाँले अवैध वन्यजन्तुका हाड र छाला, चितवनस्थित सशस्त्र क्याम्पमा पठाइएको जानकारी दिनुभयो । प्रहरीले विसं २०६४ साल भदौ १६ गते बरामद गरेको ५७ किलो, २०६८ साल, पुस ९ गते बरामद गरेको ६०३ किलो, २०६८ साल चैत ११ गते बरामद गरेको २६ किलो, सोही वर्ष बरामद गरेको १५० किलो तथा २०७० सालमा बरामद भएको रक्तचन्दन बेवारिसे अवस्थामा रहेको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा अहिले अवैध रक्तचन्दन ओसारपसारसम्बन्धी पाँचवटा मुद्दा चलिरेहेको अदालतले जनाएको छ ।