श्रीमतीसँग दोस्ती गरेको भन्दै आफ्नै साथीलाई मारे रुद्रबहादुरले


handआफ्नै साथी रोहितकुमार ओझालाई जङ्गलमा बोलाई हत्या गरेको आरोपमा रुद्रबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि थापाले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध भएको आरोप लगाउँदै ओझाको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । यही फागुन १५ गते ललितपुर लगनखेलस्थित आर्टिलरी निर्देशनालयमा कार्यरत ३२ वर्षीय ओझा ब्यारेकबाट अल्का अस्पताल जान्छु भनी सम्पर्कमा नआएपछि निजका भाइ भरत ओझाले प्रहरीमा निवेदन दिएका थिए । सो निवेदनपछि प्रहरीले ओझाको मोबाइलमा भएको कुराकानीका आधारमा अनुसन्धान गर्दा नेपाली सेनाकै नयाँ श्रीनाथ गणमा कार्यरत रुद्रबहादुर थापासँग बढी सम्पर्क भएको देखिएकाले सोधपुछका आधारमा हत्याको पर्दाफास भएको प्रहरीले जनाएको छ । पक्राउपछि थापाले ओझालाई यही फागुन १५ गते काठमाडौँको शिवपुरी जङ्गलमा मारी गाडेको भनी बयान दिएपछि प्रहरीले सो स्थानबाट ओझाको शव गाडेको अवस्थामा फेला पारेको हो । २०६६ सालमा रुद्रबहादुर थापा सिरहामा कार्यरत हुँदा निजकी श्रीमती पनि सिरहामा नै सँगै बसेको र मृतक रोहितकुमार ओझा परीक्षा दिन सिरहा गएको बेला रुद्र थापाको श्रीमती आस्था थापा मगरसँग परिचय भई फोन नम्बर आदानप्रदान भएको, प्रहरीसँगको बयानमा थापाले ओझा र आफ्नी श्रीमती आस्था मगरबीच अवैध सम्बन्ध भएको थाहा पाएपछि योजनाबद्ध रूपमा सो हत्या गरेको स्वीकारेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?