डुङ्गा डुब्दा मृत्यु हुने ५९ पुगे
म्यानमारको पश्चिमी राज्य राखिनमा गत शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या बढेर ५९ पुगेको अधिकारीहरूले जनाएका छन् । सो दुर्घटनाबाट १६९ व्यक्तिलाई भने उद्धार गरिएको थियो । बेपत्ता भएका व्यक्तिको शव भेटिने क्रम बढेपछि मृत्यु हुने बढेका हुन् । पश्चिमी म्यानमारको क्याक्फु नगरबाट २२५ जना यात्रु बोकेर सो डुङ्गा सित्वी नगरतर्फ जाँदै गरेको थियो । शुक्रबार अबेरराति डुबेको सो डुङ्गामा परेर बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताइएको छ । म्यानमार सरकारले उद्धारका लागि ठूलो सङ्ख्याका सुरक्षाकर्मी र उद्धारकर्ता खटाएको बताइएको छ ।सो दुर्घटनामा कुनै विदेशी भने नपरेको जानकारी दिइएको छ । अझै पनि केही व्यक्ति हराइरहेका उद्धारकर्ताहरूले जनाएका छन् ।