लि क्वानको निधनमा सिङ्गापुरमा सात दिन राष्ट्रिय शोक, विश्वका नेताद्वारा समवेदना
सिङ्गापुरका संस्थापक नेता एवम पूर्व प्रधानमन्त्री लि क्वान युको निधन भएको छ । उपचारार्थ अस्पताल रहनुभएका उहाँको सोमबार बिहान निधन भएको प्राप्त समाचारमा जनाइएको छ । सिङ्गापुरका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका लिलाई सिङ्गापुरका नागरिकले राष्ट्रपिताका रुपमा पनि सम्मान गर्ने गर्छन् । ९१ वर्षीय लि गत फेब्रुअरीको सुरुदेखि नै कडा निमोनियाले ग्रस्त हुनुहुन्थ्यो । पूर्व प्रधानमन्त्री लिले सन् १९९० सम्म ३० वर्ष मुलुकलाई नेतृत्व दिनुभएको थियो । यस अवधिमा उहाँले प्राकृतिक स्रोतमा सम्पन्न भए पनि एसियाकै गरिब द्विपीय राष्ट्र सिङ्गापुरलाई समृद्ध र बलियो आर्थिक केन्द्रका रुपमा रुपान्तरण गर्नुभएको थियो । नेता लि वर्तमान एवम् आधुनिक सिङ्गापुरका संस्थापक र प्रारुप तयार पार्ने व्यक्ति हुनुहुन्छ । हालको संसारमा चिनिएको सिङ्गापुर निर्माणमा उहाँको विशिष्ठ योगदान रहेको भनी सिङ्गापुरका नागरिक मान्ने गर्छन् । आधुनिक सिङ्गापुर विकासका क्षेत्रमा संसारकै एक उदाहरण हो र त्यहाँ अपराध र भ्रष्टाचारको परिमाण अत्यन्तै न्यून रहेको छ । सिङ्गापुरमा सबैजसो जनता लिलाई अत्यन्तै आदर र सम्मान गर्दछन् । लि क्वान यु सिङ्गापुरको संस्थापक नेतामात्र नभई दक्षिण पूर्वी एसियाली राष्ट्रिय सङ्गठन (आसियान) का पनि सह संस्थापक नेता हुनुहुन्थ्यो । उहाँको सोमबार बिहान भएको निधनप्रति विश्वका नेताहरूले दुःख व्यक्त गरेका छन् । उनीहरूले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको परिवारप्रति समवेदना दिएका छन् । कम्बोडियाली प्रधानमनत्री हु सेनले उहाँको निधन एसियाकै लागि क्षति हो भन्नुभएको छ । उहाँले नेता लि आफनो जीवनभरि सामाजिक कार्यमा सहभागी रहनुभएको जनाइएको छ । कम्बोडियाली सरकार र जनताका तर्फबाट पनि उहाँले सिङ्गापुरका प्रधानमन्त्री लि सिएन लुङगलाई समवेदना दिनुभएको छ । उहाँले आफ्नो आदरणीय नेता गुमाउनुपरेकामा उहाँका परिवार र सिङ्गापुरका जनताप्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियो । केही दिनअघिदेखि नै उहाँको स्वास्थ्य नाजुक अवस्थामा रहेकाले स्थानीय अस्पतालमा भर्ना भई उपचार गदै हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य स्थिति गत हप्ता नै नाजुक भएपछि हजारौँ सिङ्गापुरेले अस्पताल र सामुदायिक केन्द्रहरूमा गई आफ्नो नेताको स्वास्थ्यलाभको कामना गरेका थिए । पूर्व प्रधानमन्त्री लिले सन् १९९० सम्म ३० वर्ष मुलुकलाई नेतृत्व दिनुभएको थियो । यस अवधिमा उहाँले प्राकृतिक स्रोतमा एसियाकै गरिब यस द्वीप राष्ट्रलाई समृद्ध र बलियो आर्थिक केन्द्रका रुपमा रुपान्तरण गर्नुभएको थियो ।
सिङ्गापुरका संस्थापक नेता एवम पूर्व प्रधानमन्त्री लि क्वान युको निधनप्रति शोक व्यक्त गर्न सिङ्गापुरको सरकारले सोमबारदेखि सात दिन शोकको घोषणा गरेको छ । उहाँका सुपुत्र एवम् सिङ्गापुरका प्रधानमन्त्री लि एचसिन लुङले एक विज्ञप्ति प्रकाशन गरी सिङ्गापुरमा सोमबारबाट लागू हुनेगरी सात दिने शोकको घोषणा गरिएको जानकारी दिनुभएको हो । सिङ्गापुरका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका लिलाई सिङ्गापुरका नागरिकले राष्ट्रपिताका रुपमा पनि सम्मान गर्ने गर्छन् । ९१ वर्षीय लि गत फेब्रुअरीको सुरुदेखि नै कडा निमोनियाले ग्रस्त हुनुहुन्थ्यो । उहाँको सोमबार बिहानै सिङ्गापुरको एक अस्पतामा निधन भएको हो । उहाँको अन्त्येष्टि यही मार्च २९ मा गरिने भएको छ । उहाँको अन्त्येष्टि नगर्दासम्म सिङ्गापुरमा शोकको घोषणा गरिएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री लुङले सिङ्गापुर विश्वमा एक्लै रहेका बेला र विश्वमा विकासको गतिमा यसको मापन नभएको समयमा देशको नेतृत्व गरेर वर्तमान सिङ्गापुर निर्माण गर्नुभएको बताउनुभएको छ । टेलिभिजनबाट दिनुभएको भावुक वक्तव्यमा उहाँले भन्नुभएको थियो वर्तमान सिङ्गापुरको निर्माणमा उहाँको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने भन्दै उहाँजस्तो विकासप्रेमी र देशभक्त नागरिक सिङ्गापुरमा पाउन गाह्रो रहेको पनि बताउनुभएको थियो । उहाँको शरीरलाई उहाँको गृह नगर इस्तानामा दुई दिनसम्म राखिने छ ।
विश्वका नेताद्वारा श्रद्धाञ्जली
उहाँको निधनप्रति विश्वका नेताहरूले दुःख व्यक्त गर्नुभएको छ । उहाँहरूले सो निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । उहाँहरूले वर्तमान सिङ्गापुरको निर्माणमा नेता लिको योगदान अविस्मरणीय रहेको भन्दै आगामी पुस्ताले पनि स्मरण गर्ने उहाँले बताउनुभएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्वर्गीय लि सिङ्गापुरका संस्थापक नेतामात्र नभई एसियाली मामिलाका नै एक प्रमुख योजनाकार रहेको धारणा राख्नुभयो । चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले लि चिनियाँ नागरिकका पुराना मित्र हुनुहुन्थ्यो भन्नुभएको छ । लिको नेतृत्वमा सिङ्गापुर र चीनको सम्बन्ध निकै राम्रो रहेको धारणा पनि उहाँले राख्नुभएको छ । राष्ट्रपति सिले वर्तमान सिङ्गापुर निर्माणका लागि उहाँले गर्नुभएको सार्थक प्रयासका कारण हाल विश्व समुदायले उहाँलाई सम्मानित नेताका रुपमा आदर गर्ने बताउनुभयो । त्यसैगरी मलेसियाली प्रधानमन्त्री नाजिव रजाकले पनि उहाँलाई वर्तमान सिङ्गापुरको एक सच्चा निर्माताको सङ्ज्ञा दिनुभयो । उहाँको यस सार्थक योगदानलाई विशेषगरी एसियाका नेताहरूले सम्मान गर्ने उहाँले एक विज्ञप्तिमार्फत बताउनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वर्गीय लिलाई एकजना दुरदर्शी राजनेताका रुपमा विश्वले हेरेको भन्दै उहाँको निधनले एसियालाई नै ठूलो क्षति पुगेको बताउनुभयो । प्रधानमन्त्री मोदीले उहाँले एसिया र विश्वलाई नै सफलता र इमान्दारिताको पाठ सिकाउनुभएको बताउनुभयो ।