बारम्बार नेपाल पुगेर नक्कली एटिएम कार्डबाट करोडौं निकाल्ने पक्राउ


handप्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न एटिएम मेसिनबाट गैरकानुनी रुपमा रकम निकाल्ने बुल्गेरियाका एक नागरिकलाई पक्राउ गरेको छ । अन्य व्यक्तिको एटिएम कार्ड, भिसा कार्ड गैरकानुनी रुपमा प्रयोग गरी एटिएम मेसिनबाट नेपाली रुपैयाँ निकाल्ने र सो रकम युरो तथा अमेरिकी डलरमा सटही गरी आफ्नो देशमा लैजान खोज्ने ४२ वर्षीय पेट्रोस्लाभ रिस्टोभलाई करिब रु एक करोड २० लाख बराबरको नगदसहित पक्राउ गरिएको आज ब्यूरोमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले जानकारी दिनुभयो । उहाँले विगत केही समयदेखि विदेशी व्यक्तिले अन्य व्यक्तिको मास्टर÷भिसा कार्डको नम्बर, पिन नं तथा आवश्यक डाटाहरू समेत गैरकानुनी तरिकाले चोरी गरी अन्य कार्डमा सो डाटा राखी नेपालको दरबारमार्ग, ठमेललगायत विभिन्न बैंकको एटिएम मेसिनबाट रकम निकाली यूरो तथा डलरमा सटही गर्ने र सो रकमहरू विभिन्न माध्यमबाट नेपाल बाहिर लैजाने गिरोह सक्रिय भएको भन्ने बुझिएपछि ब्यूरोले निगरानी बढाइ पक्राउ गर्न सफल भएको बताउनु भयो । पक्राउ परेका पेट्रोस्लाभ रिस्टोभबाट नेपाली नगद रु १८ लाख, युरो ५७ हजार २००, अमेरिकन डलर ४० हजार र एक थान ल्यापटप, तीन थान मोबाइल, १७९ थान विभिन्न मास्टर कार्ड, झोला दुई थान, म्याग्नेटिक स्ट्रिप कार्ड राइटर÷रिडर दुई थान, राहदानी एक थान, जुत्ता, टोपी, मास्क, चस्मा एक÷एक थान बरामद गरिएको ब्यूरोले जनाएको छ । निज रिस्टोभलाई यही चैत ५ गते ठमेलस्थित एटिएम मेसिनमा पटक–पटक कार्डको प्रयोग गरेको शङ्कास्पद गतिविधि देखिन आएकाले सोको सिसीक्यामेराको तस्विरसमेत हिमालयन बैंक लिमिटेडबाट प्राप्त भएकाले सो अनुसारको हुलिया भएको विदेशी व्यक्तिको खोजी गर्ने क्रममा मङ्गलबार दिउँसो काठमाडौँ महानगरपालिका–२९, त्रिदेवीमार्गस्थित टेम्बल टाइगर अपार्टमेन्टको ८ नं कोठाबाट पक्राउ गरिएको हो । नायब महानिरीक्षक मल्लले समय समयमा यस्तो घटनाहरू हुने भएकाले बैंकहरूले विशेष सावधानी अपनाउनुपर्ने, बैंकमा खाता हुनेहरूले नियमित रुपमा आफ्नो खाताको बारेमा जानकारी लिइराख्नुपर्ने, एटिएम तथा भिसा कार्डको पिन नम्बर समयसमयमा परिवर्तन गरिराख्नुपर्ने सुझाव दिनुभयो । उहाँले सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न मुख्य व्यक्ति सञ्जय स्माइली मगरलाई साउदी अरबका प्रहरीले पक्राउ गरेको जानकारी पनि दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?