अनशनप्रति नेकपा–माओवादीको समर्थन
त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीले सुरु गर्नुभएको आमरण अनशनप्रति नेकपा–माओवादीले समर्थन जनाएको छ । माओवादी प्रवक्ता पम्फा भुसालले जारी गर्नुभएको विज्ञप्तिमा डा केसीसँग यसअघिसरकारले गरेको सम्झौता विपरीतका निर्णय तत्काल खारेज गरी सम्झौता लागू गर्न माग गरिएको छ । स्वास्थ्य–शिक्षामा विद्यमान समस्याबारे डा केसीले नेतृत्व गरेको आन्दोलनको दबाबमा सरकारले गरेका सम्झौता कार्यान्वयन नगरी उल्टो सम्झौता विपरीत निर्णय गरेर सरकारले डा केसीलाई पुनः आन्दोलनमा उत्रन बाध्य पारेको समेत विज्ञप्तिमा उल्लेख छ । डा केसी अस्पताल महाराजगञ्जमा विगत पाँच दिनदेखि अनशन बसिरहनुभएको छ ।