नाइजेरियाका नवनिर्वाचित राष्ट्रपति बुहारीद्वारा निर्वाचन ऐतिहासिक भएको दाबी
नाइजेरियाका नयाँ राष्ट्रपति पदमा निर्वाचित मुहमदु बुहारीले बुधबार आफूले निर्णायक विजय हासिल गरेपछि यो निर्वाचन ऐतिहासिक भएको दाबी गर्नुभएको छ । अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्यायुक्त मुलुक नाइजेरियामा यस निर्वाचनबाट पहिलोपटक प्रजातान्त्रिक रूपमा शासन परिवर्तन भएको देखिएको छ । यहाँ औपचारिक नतिजा बुधबार बिहान सार्वजनिक भएको हो । बुहारीले राष्ट्रपति पदमा २५ लाख ७० हजार मतबाट वर्तमान राष्ट्रपति गुडलक जोनाथनलाई पराजित गर्नुभएको देखिएको छ । निर्वाचनको नतजा घोषणापछि सडकमा उहाँको समर्थनमा प्रदर्शन देखा परेका छन् । नाइजेरिया सन् १९६० मा स्वतन्त्र भएपछि छपटक सैनिक विद्रोह भई शासन परिवर्तन भएको थियो । यस मुलुकलाई जोनाथनका दलले १६ वर्षसम्म नागरिक शासन दिएको थियो । बहत्तर वर्षीय पूर्व सैनिक जनरल बुहारीले सन् १९८० को दशकमा कडा सैनिक शासन सञ्चालन गर्नुभएको थियो । हाल उहाँले आफूलाई परिवर्तित प्रजातन्त्रवादी मान्नुभएको छ । यस निर्वाचनबाट अफ्रिकाबाहिर पनि सन्देश जानसक्छ । यस महादेशका नेताहरू कुनै पनि मूल्यमा शासनमा कायम रहन प्रयास गर्छन् । नाइजेरियाको राजधानी अबुजास्थित अल प्रोग्रेसिभ कङ्ग्रेस (एपीसी) को मुख्यालयमा बिहान बोल्दै बुहारीले आफूहरूले एक दलीय शासन अन्त्य गरेको दाबी गर्नुभयो । उहाँले आफ्नो मुलुक स्वतन्त्र तथा स्वच्छ तरिकाबाट मतदानबाट शान्तिपूर्ण रूपमा शासन परिवर्तन हुनसक्ने मुलुकमा पुगेको बताउनुभयो । उहाँले आफ्ना लागि यो ऐतिहासिक कुरा भएको दाबी गर्नुभयो । उहाँले सन् १९८० को दशकमा देखाउनु भएको निरङ्कुश शासन फर्कनसक्छ कि सक्दैन भनी बुहारीलाई नजिकबाट नियालिएको छ । नाइजेरियामा भ्रष्टाचार व्यापक छ र बोको हरामले विद्रोह सञ्चालन गरिरहेको छ । नाइजेरिया अफ्रिकामा सबैभन्दा बढी तेल उत्पादन गर्ने मुलुक हो । नाइजेरियाको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले (आईएनइसी) ले बुहारीले एक करोड ५४ लाख २४ हजार ९२१ मत प्राप्त गरि विजय हासिल गरेको र यो सङ्ख्या जम्मा खसेको दुई करोड ८५ लाख ८७ हजार ५६४ मतको ५३.९५ प्रतिशत भएको जानकारी दिएको छ । उहाँका प्रतिद्वन्द्वी पिपुल्स डेमोक्र्याटिक पार्टीका ५७ वर्षीय जोनाथनले एक करोड २८ लाख ५३ हजार १६२ मत प्राप्त गरेको जानकारी दिइएको छ । नाइजेरियामा शनिबार तथा आइतबार मतदान भएको थियो । निर्वाचनमा नयाँ प्रविधि प्रयोग भएकोमा यसमा अनियमितता भएको आरोप लागेको छ । बोको हराम विद्रोहीले आक्रमण गर्ने सम्भावनामा यहाँ निर्वाचन छ साता सारिएको थियो । सुपरिवेक्षकहरूले समग्रमा मतदान सही भएको उल्लेख गरेका छन् । नाइजेरियाको सुरक्षामा समस्या, भ्रष्टाचार तथा तेलबाट हुने आय घट्दा अर्थतन्त्र खस्कको छ र जनताले पनि निर्वाचनलाई परिवर्तनको अभूतपूर्व अवसरका रूपमा लिएका छन् । अपरान्ह ५ः१५ बजे वर्तमान राष्ट्रपति जोनाथनले निर्वाचनको नतिजा घोषणा हुनुपूर्व नै बुहारीलाई टेलिफोन गरी आफू पराजित भएको स्वीकार गनुभएको थियो । यसका कारण उहाँको प्रशंसा भएको थियो । उहाँले मुलुकमा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन हुने आफूले बचन दिएको र आफ्नो बचन कायम भएको बताउनुभयो । उहाँले निर्वाचनका विषयमा देखिएका विवाद सडकमा भन्दा अदालतमा समाधान हुने बताउनुभयो । बुहारीले जोनाथनले पराजय स्वीकार गरी राजनेताको स्वरूप देखाएको बताउनुभयो । गत छ वर्षमा बोको हरामलले गरेको आक्रमणका कारण यस मुलुकमा १३ हजार भन्दा बढी व्यक्तिको मृत्युभएको छ भने १५ लाख जनता विस्थापित भएका छन् । बुहारीले नाइजेरियाको १७ करोड ३० लाख जनतामा व्यापक भएको गरिबी, बोको हरामको आक्रमण तथा तेलमा आधारित अवरुद्ध अर्थतन्त्र सबै सुधार गर्न आफूले जादुगरको रूपमा काम गर्न नसक्ने बताउनुभयो ।