सुनको सिक्री थुत्ने गिरोह समातियो, प्रहरीबाट सार्वजनिक
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पैदलयात्रुको सुनको सिक्री लुट्ने पाँच जनाको गिरोहलाई महानगरीय अपराध अनुसन्धान शाखाले सार्वजनिक गरेको छ । लुटपाटमा संलग्न मोरङ शनिश्चरे–३ स्थायी ठेगाना भएका विनोद केसी भन्ने सन्तोष कटवाल, काभ्रे पाँचखाल नगरपालिका–९ का राज भन्ने राजकुमार तामाङ, झापा गौरादहगा–९ का विदुर दाहाल, इलाम चुलाचुली–८ का प्रेमकुमार सेञ्चुरी र सप्तरी कल्याणपुर–८ का रामहरि श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । उनीहरू मोटरसाइकलमा टाउको र अनुहार पूरै छोपिने हेल्मेट लगाउने र पछाडि बस्नेले मुखमा मास्क लगाई भित्री सडकमा पैदल हिंँड्ने महिलाले लगाइराखेको सुनको सिक्री लुटी भाग्ने गरेका थिए । उनीहरूबाट लुटिएका सुनका विभिन्न गरगहना आठ तोला ७५ लाल, नगद रु तीन लाख ३४ हजार, घटनामा प्रयोग भएको बा२५प ८६७६ नं को कालो पल्सर मोटरसाइकल, घटना घटाउँदा लगाएको ज्याकेट एक थान र एक जोर जुत्तासमेत प्रहरीले बरामद गरेको थियो । सेञ्चुरीले लुटिएको गहना खरिद गर्ने गरेका थिए । अहिलेसम्म लुटिएको करिब ३४÷३५ तोला सुन उसले खरिद गरिसकेको अनुसन्धानबाट देखिएको थियो । यसैगरी, धुम्बाराहीमा राजेन्द्र नेपालको स्टेना इन्टरनेसनल प्रालिबाट गत चैत ३ गते भएको चोरीमा संलग्न नयाँबजारका राजेश श्रेष्ठलाई समेत प्रहरीले आजै पक्राउ गरेको छ । उनले घटना भएको राति टेबलको ड्रयर फोरी रु पाँच लाख चोरी गरेका थिए ।