भारतमा अराजक प्रदर्शनकारी नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास छर्कने ड्रोन प्रयोग गर्ने
भारतको उत्तरी नगरका प्रहरीले विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रको अराजक प्रदर्शनकारी नियन्त्रण गर्न अश्रुग्यास छर्कने चालकविहीन विमान ‘ड्रोन’को रूपमा नयाँ औजार प्राप्त गरेको जानकारी मङ्गलबार दिएका छन् । लखनऊका प्रहरी प्रमुख यशस्वी यादवले हालै खरिद गरिएको नयाँ ड्रोन आफ्ना अधिकारीहरूले सफलतापूर्वक सञ्चालन गरेको जानकारी दिनुभयो । यस ड्रोनलाई भीड नियन्त्रण गर्न प्रयोग गरिने बताइएको छ । उहाँले परीक्षणको नतिजा निकै राम्रो भएको बताउनुभयो । उहाँले भीडलाई सही रूपमा नियन्त्रण गर्न ड्रोनलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा आफूहरूले काम गरेको बताउनुभयो । उहाँले अश्रुग्यास घातक नभए पनि भीड नियन्त्रण गर्न प्रभावकारी उपाय भएको बताउनुभयो । उहाँले अश्रुग्यासलाई विभिन्न उचाइमा रहेर छर्कन सकिने र त्यसले अधिकतम नतिजा दिने बताउनुभयो । नगर प्रहरीले हाल पाँचवटा ड्रोन खरिद गरेको छ र प्रति ड्रोनको लागत छ लाख भारतीय रूपैयाँ परेको छ । यस्तो ड्रोनलाई यसै महिनाको अन्त्यदेखि प्रयोग गरिने योजना बनाइएको छ । चालकविहीन यस विमानमा उच्च गुस्तरको फोटो खिच्नसक्ने क्यामरा लगाइएको छ । यसमा दुई किलोग्राम तौलको अश्रुग्यास राख्न सकिन्छ र यसलाई एक किलोमिटर वरपर उडाउन सकिन्छ । लखनऊ प्रहरीले यसअघि नगरमा धार्मिक चाडको समयमा आकाशबाट तस्वीर खिच्न यस्तो ड्रोनको प्रयोग गरेको थियो । लखनऊ उत्तर प्रदेशको केन्द्र हो । एक अर्ब २० करोड जनसङ्ख्या भएको भारतमा विभिन्न मुद्दामा दैनिक रूपमा शान्तिपूर्ण प्रदर्शन हुने गर्छन् । कहिलेकाँही यस्ता प्रदर्शन हिंसात्मक बन्ने गरेका छन् र कहिलेकाँही प्रदर्शन नियन्त्रणबाहिर पुग्ने गरेका छन् । लखनऊको जनसङ्ख्या २० लाख रहेको छ र यो भारतको आठौँ सबैभन्दा बढी जनसङ्ख्यायुक्त नगर हो ।