अमेरिकी राष्ट्रपति पदको निर्वाचनका लागि क्लिन्टन मैदानमा
प्रत्येक अमेरिकी नागरिकका लागि आफू बिजेता बन्ने घोषणासाथ ह्वाइट हाउसको नेतृत्व सम्हाल्ने प्रथम महिला बन्ने प्रयासमा हिलारी क्लिन्टनले सोमबार अमेरिकी मध्यभागमा निर्वाचन अभियान सडकयात्रा आरम्भ गर्नुभएको छ । पूर्व प्रथम महिला, पूर्व विदेशमन्त्री तथा विश्वव्यापी कल्याणकारी संस्थाका निर्देशकको ठूलो छविलाई पन्छाएर क्लिन्टनले साधारण मिनिभ्यानमा न्यु योर्कबाट आइवातर्फको यात्रा आरम्भ गर्नुभयो । एक हजार माइलको यस यात्राका केही घण्टामा डेमोक्र्याटिक पार्टीका ६७ वर्षीया हिलारीले पेन्सिलभेनियाको एक ग्यास केन्द्रमा एक परिवारसँग भेट गरेको चित्र ट्विट गर्नुभयो । एक वरिष्ठ सहयोगी हुमा अबेदिनले समर्थक तथा पत्रकारहरूका लागि आयोजना गरिएको कन्फरेसन्स कलमा हिलारीका यो सडक यात्राको योजनाप्रति आफूलाई आश्चर्य लागेको बताउनुभयो । सन् २०१६ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीको मनोनयनका लागि पहिलेदेखिनै अग्रस्थानमा देखिनुभएका क्लिन्टनको औपचारिक घोषणाले उहाँका लागि निकै ठूलो कोष जुटाउने यन्त्र तथा सामाजिक आमसञ्चार सञ्जाल सञ्चालनमा आएको छ । सन् २००८ मा डेमोक्र्याटिक पार्टीको मनोनयन पाउने प्रतिस्पर्धामा क्लिन्टन बाराक ओबामासँग पराजित हुनुभएको थियो र उक्त सञ्जाल अन्त्य भएको थियो । उहाँले आफ्नो नयाँ फेसबुक पेज तथा वेबसाइटका साथमा ३० लाख ट्विटरमा सन्देश पठाएर यस प्रक्रियालाई पुनः आरम्भ गर्नुभएको छ । निकै विचार पु¥याइएर तयार गरिएको भिडियोमा उहाँले आफू राष्ट्रपति पदका लागि उम्मेदवार बन्न गइरहेको बताउनुभएको छ । उहाँले प्रत्येक दिन अमेरिकी जनतालाई एउटा बिजेता आवश्यक भएको र आफू त्यो बिजेता बन्न चाहेको बताउनुभएको छ । दुई मिनेटको यस भिडियोचित्रमा विभिन्न क्षेत्रका मध्यवर्गीय परिवारलाई आफ्नो आकाँक्षा साझेदारी गर्दै गरेको देखाइएको छ । उहाँको अभियानले क्लिन्टनले आउँदो छदेखि आठ साता तल्लोस्तरका संस्था निर्माण तथा मतदातासँग प्रत्यक्ष सम्पर्कमा बिताउनुहुने जानकारी दिएको छ । उहाँको प्रथम प्रमुख भेला तथा भाषण मे महिनासम्म आयोजना नहुने बताइएको छ । उहाँको सडकयात्राको भ्यानको नाम ‘‘स्कुबी’’ रहेको छ । यो अमेरिकी शास्त्रीय कथाचित्र (कार्टुन) को एक पात्रको नाम हो र यसैले उहाँलाई आइवाका मतदाताको साना समूहसम्म पु¥याउनेछ । निर्वाचनको वर्षमा पहिलोपटक मतदान गर्ने राज्य आइवामा उहाँले हरेक अमेरिकी नागरिक तथा उनीहरूको परिवारले वास्तवमै अगाडि बढ्नसक्ने र अगाडि रहनसक्ने गरी कसरी अर्थतन्त्रलाई काम गराउने भन्ने विषयमा छलफल गर्नुहुनेछ ।