सस्तोमा अमेरिकी डलर दिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
अमेरिकी डलर सस्तोमा दिन्छु भन्दै ठगी गर्ने सात जनाको गिरोहलाई महानगरीय अपराध विभाग हनुमान ढोकाले पक्राउ गरेको छ । महाशाखाले उक्त गिरोहबाट पचास दरका चार थान अमेरिकी डलर, अमेरिकी डलर एकको ३०० थान, १६ थान मोबाइल र एउटा मोटर साइकलसहित उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा जिल्लाखोटाङ बतासे स्थायी घर भई काठमाडौँको कपन बस्ने ३३ वर्षीय चन्द्र प्रकाश राई, सोही जिल्लाका जोरपाटी बस्ने ३४ वर्षीय श्रीप्रसाद राई, सिन्धुपाल्चोक कर्थली–४का २६ वर्षीय छिरीङ तामाङ, सोही स्थानका वर्षीय ३२ विकास भन्ने केदार लामा, हाल गोकर्ण बस्दै आएका २८ वर्षीय ताराबहादुर थिङ, सिन्धुपाल्चोककै घोर्थली–५ घर भई गोकर्ण बस्दै आएका ३२ वर्षीय मानबहादुर तिमिल्सिना र काठमाडाँै शङ्खरपुर नगरपालिका–५ बस्ने टीकाराम स्याङ्वो छन् । उक्त गिरोहले महानगरपालिकाको धुम्बाराही बस्ने सुजन महर्जनलाई डलर देखाई रु आठ लाख ठगी गरी लगेको थियो । पक्राउ परेका सातै जनामाथि कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।