प्रतिबन्धकाबीच रसियाली राष्ट्रपति पुटिनद्वारा अर्थतन्त्रको खराब अवस्था अन्त्य भएको दाबी


putinसङ्कटग्रस्त रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका विषयमा पश्चिमी मुलुकले मस्कोमाथि लगाएको प्रतिबन्धबीच मुद्रा रुबलको मूल्य बढेको सङ्केत गर्दै बिहीबार अर्थतन्त्रको सबैभन्दा नराम्रो अवस्था अन्त्य भएको दाबी गर्नुभएको छ । वार्षिक ‘‘फोन–इन’’ कार्यक्रममा रसियालाई सम्बोधन गर्दै क्रेमलिनका सबैभन्दा शक्तिशाली व्यक्तिले आर्थिक समस्या अन्त्य भएको दाबी गर्नुभयो र उहाँले युक्रेन सङ्कटका विषयमा पश्चिमी मुलुकले दण्डित गर्न खोजेको पाइला भित्री रूपमा आफ्नो मुलुकका लागि फाइदाजनक भएको बताउनुभयो । उहाँले प्रतिबन्धले सरकार तथा केन्द्रीय बैङ्कलाई सहयोग गरेको दाबी गर्नुभयो । उहाँले प्रतिबन्ध नलगाइएको भए पनि रुबलको सटही दरमा परिवर्तन हुन्थ्यो भन्दै त्यसले रसियाली अर्थतन्त्रलाई पुनः बल दिएको बताउनुभयो । राष्ट्रपति पुटिन रसियाको शासनमा पुगेको मार्च महिनामा १५ वर्ष पुगेको छ र उहाँले रुबल स्थिर र बलियो भएको बताउनुभयो । उहाँले रसिया समस्याको उचाइबाट झर्न थालेको विशेषज्ञहरूले विश्वास गरेको बताउनुभयो । उहाँले आफूहरूले मुलुकको मुद्रालाई सच्याएको र सबै कुराले राम्रोसँग काम गरिरहेको बताउनुभयो । युक्रेनको पूर्वी भागमा युद्ध थामिएको तथा तेलको मूल्य स्थिर हुनथालेपछि रसियाली मुद्राको मूल्य गत वर्ष निकै घटेपछि हाल पाँच महिनामा सबैभन्दा माथिल्लो अवस्थामा पुगेको छ । रुबल अझै पनि मानसिक रूपमा तनावमा पर्ने गरी ५० रुबल प्रति डलरको अवस्थामा बुधबार रहे पनि यो नोभेम्बर महिनापछिको सबैभन्दा राम्रो अवस्था हो । राष्ट्रपति पुटिनले अर्थतन्त्रका विषयमा आफ्नो सरकारको योजनाको प्रशंसा गर्दै यी योजनाले उच्च पेसागत कार्य गरेको दाबी गर्नुभयो । उहाँले अकाशिएको मुद्रास्फीति, बेरोजगारी तथा गत वर्ष १०० अर्ब अमेरिकी डलर बराबर पूँजी पलायनबीच पनि यी समस्या विनाशकारी नभएको बताउनुभयो । गत वर्ष राष्ट्रपति पुटिनले दुई वर्षपछि रसियाली अर्थतन्त्र फेरि माथि आउने बताउनुभएको थियो भने बिहीबार उहाँले अर्थतन्त्रमा सुधार छिटै हुनसक्ने बताउनुभयो । उहाँले पश्चिमी मुलुकले छिटै प्रतिबन्ध हटाउने अपेक्षा रसियाली जनताले गर्न नहुने बताउनुभयो । उहाँले यी कुरालाई रसियाले आफ्नो फाइदाका लगि प्रयोग गर्नुपर्ने बताउनुभयो । गत मार्चमा मस्कोले क्राइमियालाई युक्रेनबाट आफूमा गाभेपछि पश्चिमी मुलुकले रसियामाथि कडा प्रतिबन्ध लगाएका छन् । पश्चिमी मुलुकले मस्कोले युक्रेनको पूर्वी भागमा किभको सरकारसँग युद्ध गरिरहेका लडाकूलाई सहयोग गरिहेको पनि आरोप लगाएका छन् । रसियाली राष्ट्रपति पुटिनलाई मतदाताले उहाँले वर्षौँसम्म आर्थिक स्थायित्व दिएको तुलनात्मक रूपमा समृद्धि देखाएको र तेलको मूल्य उच्च राखेको भनी समर्थन गरेका हुन् । अर्थतन्त्र नराम्रो हुँदा उहाँले गम्भीर चुनौती भोगेको देखिएको थियो । मस्कोमाथि लगाइएको आर्थिक प्रतिबन्धले रसियाली अर्थतन्त्रलाई सङ्कटमा पारे पनि राष्ट्रपति पुटिनप्रतिको उच्च समर्थन घटाउन सकेको छैन । जनताले राष्ट्रपति पुटिनले पश्चिमी मुलुकविरुद्ध आफूलाई उभ्याउनुभएको र त्यसले मुलुकको अन्तर्राष्ट्रिय स्तर बढेको भनी रसियाभर उहाँको प्रशंसा भएको छ । क्रेमलिनका आलोचकहरूले बढ्दो बेरोजगारी, घट्दो तलब तथा निवृत्तिभरणबीच अधिकारी तथा सरकारी टेलिभिजनले समस्याको आकारलाई जानाजान कम आङ्कलन गरेको आरोप लगाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?