वैशाख १७ गतेपछि सहमतिको लागि नकुर्ने संविधानसभाध्यक्षको अडान
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलहरूलाई नयाँ संविधानका अन्तर्वस्तुमा सहमति खोज्न पुनः एकसाताको समयसीमा प्रदान गर्नुभएको छ । दलहरूबीच यस समयावधिभित्र संविधानका अन्तर्वस्तुमा सहमति हुन नसकेको खण्डमा प्रस्ताव निर्माण समितिको प्रतिवेदन संविधानसभाको वैशाख १७ गते बस्ने बैठकबाट अघि बढाइने छ । संविधानसभाको बैठकमा उहाँले यस अवधिमा दलहरूबीच सहमति भए त्यहीबमोजिम तथा हुन नसकेमा नियमअनुरुप उल्लेख गरिएको प्रक्रियालाई अगाडि बढाउने जानकारी दिनुभएको हो । संविधानसभाको प्राथमिकता भनेको सहमति नै भएको आफूले भन्दै आएको स्मरण गराउँदै अध्यक्ष नेम्वाङले भन्नुभयो, “अहिले पनि त्यो दोहो¥याउन र जोड दिन चाहन्छु ।” संविधानको विषयवस्तु र सो नहुँदा प्रक्रियासमेतलाई लिएर सहमति गर्नका लागि राजनीतिक दलहरूलाई पटक–पटक मागभन्दा बढी समय दिँदै आएको बारे उहाँले बैठकलाई जानकारी गराउनुभएको थियो । “आजसम्म सहमति गर्न भनी अनिश्चितकालका लागि संविधानसभाको बैठक स्थगन गरेको र बैठक बोलाइएपश्चात् पनि कार्यसूची नतोकिएको दुई महिना १० दिन समय व्यतित भएको जनाउँदै अध्यक्ष नेम्वाङले भन्नुभयो, “तर अहिलेसम्म सहमति भएको छैन ।” उहाँले भन्नुभयो, “माघ २९ गतेको संविधानसभाको बैठकले प्रस्ताव निर्माण समितिको प्रतिवेदन अनुमोदनसमेत गरेको स्थितिमा सो प्रतिवेदनलाई वैशाख १७ गते संविधानसभा बैठकमा नियमबमोजिम अगाडि बढाउन प्रस्तुत गर्ने व्यवस्था मिलाएको छु ।