यमनमा एकसय १५ बालबालिका मारिए
यमनमा भएका पछिल्ला हिंसाहरुमा परी कम्तीमा पनि ११५ जना बालबालिकाको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घीय तथ्याङ्कमा सो कुरा जनाइएको छ । साथै ती हिंसामा परी अरु करिब १७२ जना नराम्ररी घाइते भएका छन् । साउदी अरेबियाको नेतृत्वमा भएका हमलाहरुमा परी ती बालबालिका मारिएका हुन् । संयुक्त राष्ट्रसङ्घीय बालकोषले सो बारेमा जानकारी दिएकोे हो । उक्त कार्यालयका अनुसार गएको मार्च २६ तारिखदेखि यमनमा साउदी अरेबिया नेतृत्वको आक्रमण जारी रहेकोले अन्य सयौँ व्यक्ति मारिएका छन् । राष्ट्रसङ्घीय बालकोषका प्रवक्ता क्रिस्टोफ बुलिरेकले सो जानकारी दिनुभएको बताइएको छ । उहाँले तथ्याङ्क यो भन्दा पनि बढी हुनसक्ने पनि बताउनुभयो । उहाँले मरिनेमा ६४ जना बालबालिका साउदी अरेबियाको हमलामै परी घटनास्थलमै मारिएका थिए भने अरुको उपचारका क्रममा ज्यान गएको थियो । यमनमा गएका केही हप्तादेखि साउदी अरेबियाको नेतृत्वमा आक्रमण जारी रहेको छ । सो आक्रमणमा परी बालबालिकाको ज्यान गएको प्रति राष्ट्रसङ्घले आपत्ति जनाएको छ ।