संयम अपनाउँदै कर्तव्यमा जुटौं
भवानी ओली, अष्ट्रेलिया
हजारौं घर भत्किए, सयौं हताहत भए, हजारौं घाइते छन्, लाखौंलाई सहायता चाहिएको छ । करोडौं रकम राज्यले छुट्याएको छ, अरबौं दाताहरुले दिने भनेका छन्, नेपालभित्रै करोडौं रकम उठेको छ, उठ्दैछ । नेपाली भएका संसारका प्रत्येक मुलुकबाट स्वतस्फुर्त सहयोग जुटिरहेको छ । गैरआवासीय नेपालीमा त्यस्तो कोही छैन होला जसले सहायता नगरेको होस् । त्यस्तो परिवार छैन होला सहायता संकलन गर्न पहलकदमी नलिएको होस् । सम्पूर्ण दृष्टान्त हेर्दा प्रष्ट बुझ्न सकिन्छ कि नेपालको उद्धारका लागि आवश्यक रकमको कमी छैन । तर पैसाले शव झिकिँदैन, जिउ ढाकिँदैन, छत नदिँदो रहेछ, पेट नभर्दो रहेछ, उपचार नगर्दो रहेछ र पुरिएकालाई निकाल्न नसक्दो रहेछ ।
प्रत्येक फोटो, भिडियो हेर्दा अहिले नरुने को होलान् ? भाव विह्वल भएर उद्धार टोली र सामग्री आजै पुगेपनि हुन्थ्यो नभन्ने को होलान् । किन अहिलेसम्म पनि गर्नसकेको नभन्ने को होलान् ? यिनै यथार्थलाई प्रयोग गर्दै सञ्चारका विभिन्न माध्यमबाट सरकार कहाँ छ भन्ने प्रश्न कडा ढंगले उठेका छन् । जनप्रतिनिधिहरु के गर्दैछन् भन्ने आवाज बुलन्द हुँदै गएको छ । नेताहरुप्रतिको घृणाले तिव्ररुपमा सञ्चारित हुँदै गएको छ । यदि समयमा युद्धस्तरको वास्तविक राहत सम्बन्धित क्षेत्रमा पुगेन र घृणाको सञ्चारलाई व्यवस्थापन गरिएन भने अर्को ठूलो मानवीय तुफान अवश्यंभावी छ ।
प्रकृतिको यो अमानवीय लीलासँग जुद्धैगर्दा हामीले हाम्रो यथार्थ परिस्थितिको ठोस मूल्यांकन गरी हाम्रो संयमलाई उपयुक्त व्यवस्थापन गर्न जरुरी छ । हाम्रो मुलुक त्यसैपनि संक्रमणकालबाट गुज्रँदो थियो । आर्थिक रुपले पिछडिएको नै छ । सरकारी संयन्त्रहरुले सामान्य अवस्थामा नै पनि राम्रो काम गरिरहेका थिएनन् । राज्यसँग सानोभन्दा सानो प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने संरचना छैन, थिएन । आपतकालीन अवस्थामा प्रयोग गर्न सकिनेगरी ठूलो मात्रामा खाद्यान्न भण्डार गरेको, उद्धारका मेसिनरी, औषधि, टेण्ट लगायत सामग्रीको स्थायी भण्डारणको व्यवस्था थिएन । छैन । सीमित हलिकोप्टर छन् आदि ईत्यादी ।
आजको नेपाली सेना, पुलिस, कर्मचारी र नेता कसैसँग यो स्केलको प्राकृतिक प्रकोपसँग लड्ने दक्षता र अनुभव नभएको कुरा जग जाहेर छ । सामान्य अवस्थामा पनि जसोतसो काम चलाउ रुपमा सञ्चालित सरकार र सरकारी संयन्त्र यत्रो ठूलो महाप्रलयकारी भूकम्पको चौतर्फी विध्वंशलाई सहज ढंगले व्यवस्थापन गर्न सकेन भनेर विद्रोह गराउने प्रकृतिको वा थप असन्तुष्टि र नैराश्यता अभिबृद्धि गर्ने प्रकृतिको अभिव्यक्ति वा समाचार आजको अवस्थामा अत्यन्त खतरनाक छन् । राजधानी लगायत धेरै जिल्लाको जनजीवन भर्खरै आतंकबाट मुक्त हुँदैछन् । पसल, उद्योग सबै बन्द थिए । पसलधनी र उद्योगपति पनि त मान्छे नै हुन् । उनीहरुको पनि त ज्यानै हो । उनीहरुलाई पनि मर्न डर लाग्छ । सबै डराए उद्योग बन्द भयो, व्यापार बन्द भयो । राहत सामग्रीको मौज्दात छैन । कसरी पुग्न सक्छ त राहत ? यदि हाम्रो सरकारसँग भण्डारमा आवश्यक पर्ने श्रोत, साधन पर्याप्त भएर त्यसको वितरण गर्न नसकेको भए पूरै दोष राज्यलाई दिन मिल्थ्यो । हाम्रो दुर्भाग्य वा सौभाग्य जे भनेपनि हामी नेपालमा जन्मियौं । हाम्रो देशको अवस्था यस्तै छ भने हामीले यो संकटको घडीमा त्योभन्दा ठूलो खोजेर पाउन सक्दैनौं, जति कराए पनि चिच्याए पनि र मानिस उत्तेजित बनाउने किसिमको समाचार प्रशारण गरेपनि ।
देशका ९० प्रतिशत सेना, सतप्रतिशत प्रहरी आफ्नो परिवार क्षतविक्षत हुँदाको पीडा त्यागेर फेरि आउनसक्ने भूकम्पको परवाह नगरी भूकम्प आएको १५ मिनेटभित्रै परिचालित भएका छन् । तिनीहरुले मन्त्रिपरिषद्को निर्णय कुरेनन् । जिल्ला जिल्लामा तिनका व्यारेक भत्किएका छन्, चौकी पुरिएका छन्, सहकर्मीले ज्यान गुमाएका छन् आफ्नो परिवार संकटमा छ । खाना, सुत्ने, आराम केहीको पनि ठेगान छैन । यस्तो राष्ट्रप्रेम, जनताप्रेमबाट ओतप्रोत नेपाली सेना, प्रहरीको मनोबल उच्च बनाऔं, उनीहरुको प्रशंसा गरौं । उद्धार गर्ने क्रममा भएका कमी कमजोरी औंल्याउँदै, सकारात्मक ढंगको सुझाव दिउँ । तर, उनीहरुलाई हतोत्साही बनाउने ढंगका अभिव्यक्ति वा समाचार सम्प्रेषण गर्नुअघि तीन पटक सोचौं । आज नेपाली सेना र प्रहरी, सशस्त्र प्रहरीले पनि हरेस खाए भने मुलुक अझ कल्पना गर्न नसकिने संकटमा फस्नेछ ।
राज्य जनता हुन् । राज्य सेना हुन् । राज्य प्रहरी हुन् । राज्य डाक्टर, नर्स हुन् । राज्य किसान हुन् । राज्य मजदूर हुन् । अनि राज्य नेता र सरकार पनि हुन् । राज्य नेता र सरकार मात्र होइनन् । आजको संवेदनशील अवस्थामा हामीले आफ्नो व्यक्तिगत वा पेशागत लोकप्रियताबृद्धिको लागि उद्धार अभियानमा अहोरात्र खटिरहेका उद्धारकर्मीलाई समेत निरुत्साहित बनाउने प्रकृतिको विचार वा समाचार सम्प्रेष्ण गर्ने काम बन्द गरौं । भए गरेका कामको प्रशंसा पनि गरौं । कमजोरी भएका क्षेत्र औंल्याऔं र सकारात्मक आलोचना गरौं । नेता सरकार, प्रहरी, सेना, सशस्त्र प्रहरी, चिकित्सक, अस्पताललाई खुइल्याउने समय यो होइन ।
आज विदेशमा बस्ने प्रत्येक नेपालीले आपूmले सक्ने धन सहयोग गर्दैछन् । नेपाल नटेकेका हाम्रा छोराछोरी सहायताको खुत्रुके बोकेर सडक सडकमा हाम्रो देश संकटमा छ, हाम्रो उद्धार गर भनी चिच्याइरहेका छन् । प्रत्येक नेपाली काम गर्ने कम्पनी र त्यहाँ काम गर्ने मान्छे हेल्प नेपाल, हेल्प नेपाल भनीरहेका छन् । गत शनिबारदेखि हरेकको तन, मन र धन पीडितको सहयोगमै समर्पित छ । त्यसैले नेपालमा हुनुहुने देशभक्त आदरणीय आमा, बुबा, दाजुभाई, दिदीबहिनीहरु, राजय आफैंभित्र समाहित गरी उद्धारमा जानुहोस् । १०, २०, ५०, २०० विदेशीले धान्नसक्ने विपत्ति होइन यो । फेसबुकप्रेमी मित्रहरु सबैलाई आपूmभित्र राज्य खोज्न अभिप्रेरित गर्नुहोस् । पत्रकार, लेखक महानुभावहरु प्रत्येक नेपालीमा समाहित राज्यको जागृत गराईदिनुहोस् । यति गर्न नसके पनि कम्तिमा दर्दनाक आलो घाउमा नूनचूक लगाउने काम नगर्नुहोस् ।
अन्तमा,
गाउँ गाउँबाट उठ, देश विदेशबाट उठ
यो देशको संकट मोचन गर्न उठ ।
हातमा कोदालो हुनेहरु कोदालो लिएर उठ
चामल सातु हुनेहरु अन्न लिएर उठ
सब्जी दाल हुनेहरु तरकारी लिएर उठ
शक्ति र जोश हुनेहरु सबै उद्धारमा जुट ।
आज सबै देशभक्तहरु उद्धारमा जुट ।।